• १३ साउन २०८१, आइतबार

थप चार किलो सुन बरामद

blog

बाबुराम शर्मा

दोलखा, असोज १६ गते । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ढुङमामुनि लुकाइराखेको यो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले यसअघि जामुनेको होटेलबाट तीन किलो र चार किलो सुन सहित  ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र श्रीमती ३० वर्षीया सुनमाला तामाङ,२८ वर्षीय केशर तामाङ, १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो । चीनबाट अवैध रूपमा ल्याएको सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । 

तीन पटकमा ११ किलो सुन बरामद भएको छ । अरू व्यक्तिहरू फेला परेका छैनन् । खोज अनुसन्धान तीव्र रूपमा भइरहेको छ । प्रहरी नायब निरीक्षक दीपक खडकाले भन्नु भयो, अहिलेसम्मको अनुसन्धानबाट पक्राउ परेका मध्ये केही लगानीकर्ता र केही भरिया भएको खुलेको छ । सोक्टाबाट फलयक हुँदै सुन ल्याएको देखिन्छ । 

पक्राउ परेकाहरूलाई सङ्गठित अपराध र भन्सार कानुन अनुसार कारबाही अगाडि बढाइएको छ । अनुसन्धान भइरहेकाले अहिले नै यथार्थ पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो ।