• १३ मंसिर २०८१, बिहिबार

युवालाई आत्मनिर्भर बनाइने

blog

उपमहानगर र स्कुलबिच प्राविधिक तालिम सञ्चालन सम्झौता हस्तान्तरण गर्दै सामाजिक विकासमन्त्री झपट साउद । तस्बिर : भवानी ऐर

गोदावरी समाचारदाता 

गोदावरी (कैलाली), असोज १६ गते । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले युवा जनशक्तिलाई दक्ष र सिपयुक्त बनाउन प्रदेश सरकार हरदम लागि परेको बताउनुभएको छ । 

बेराजगार युवालाई सिपमूलक तालिम प्रदान गर्न धनगढी उपमहानगरपालिकाले फूलबारीमा भोकेसनल स्कुल स्थापना गर्न आयोजना गरिएको सम्झौता हस्तान्तरण कार्यक्रममा मन्त्री साउदले सो कुरा बताउनुभएको हो । 

विश्व बजारमा काम पाउन सक्ने, स्वरोजगार हुन सक्ने र रोजगारी सिर्जना गर्ने कार्यमा प्रदेश सरकार सरोकारवाला सबैसँग सहकार्य गर्न तयार रहेको छ उहाँले भन्नुभयो, “यहाँ भोकेसनल स्कुलको भूमिका महत्त्वपूर्ण हुने छ, प्रदेश सरकार, धनगढी उपमहानगरपालिकासँग सहकार्य गरेर काम गर्न तयार छ ।” 

शिक्षा क्षेत्रमा प्रदेश सरकारले यसअघि पनि स्थानीय तहसँग सहकार्य गर्दै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “यहाँ प्रदेश सरकारले के गर्नु पर्छ ? भवन, खेल मैदान, घेरबार र आइसिटी निर्माणका लागि प्रदेश सरकार सहयोग र सहकार्य गर्न तयार छ । शिक्षा र स्वास्थ्यको विकास गर्न सामाजिक विकास मन्त्रालय सदैव स्थानीय तहको साथमा रहने छ ।”  सुदूरपश्चिम प्रदेशका ८८ पालिकाकै युवाले सिपमूलक तालिम लिन पाउने गरी धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनबिच धनगढीको फूलबारीमा स्कुल स्थापना गर्न सम्झौता भएको छ । 

कार्यक्रममा नगर प्रमुख गोपाल हमालले प्रदेशका सबै पालिकाका युवालाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्ने उद्देश्यले स्कुल स्थापना गरिन लागेको बताउनुभयो । “धनगढीको प्राविधिक स्कुलमा सुदूरपश्चिमका ८८ वटै पालिकाका युवालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो । 

धनगढी उपमहानगरपालिका–१८ मा रहेको फूलबारी बहुमुखी क्याम्पसमा नेपाल युथ फाउन्डेसनको ओल्गापुरी भोकेसनल स्कुलले प्लम्बिङ र हाउस वायरिङको तालिम दिन सुरु गरिसकेको छ । प्लम्बिङमा २५ र हाउस वायरिङमा २८ जनाले तालिम लिइरहेका छन् ।