• २७ वैशाख २०८२, शनिबार

भारत स्वतन्त्र हुनुमा नेपालीको सहयोग छ : नेता निधी

blog

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधी । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १५ गते । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले भारत स्वतन्त्र हुनुमा नेपालीहरुको हात रहे पनि भारतले  कहिल्यै जस नदिएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरुले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताउनुभयो । भारतले पनि कहिल्यै पनि नेपालीहरु पनि भारत स्वतन्त्र हुनमा आन्दोलनमा उत्रिएका थिए भन्ने प्रसंग ननिकाल्ने गरेके उहाँले बताउनुभयो । भारतीय राजनीतिज्ञ, साहत्यिकार, इतिहासकारले सो कुरालाई ओझेलमा राख्नेगरेको बताउनुभयो । उहाँले भारतले नेपालमा लोकतन्त्र ल्याउनमा आफूहरुको सहयोग रहेको मात्रै भन्नेगरेको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘भारतको अहिंसात्मक आन्दोलनको जुन गान्धीजीको नेतृत्वमा भएको थियो । त्यसमा भारतीय जनताले सहभागिता देखाएकै थियो । नेपाली जनता र नेपाली नेताहरुले पनि भारतीय आजादीमा सहभागीता जनाएका थिए । भारतमा यो सन्देश जाओस् । म चाहन्छु, खासगरी भारतीय कार्यवाहक राजदुतजीको माध्यमबाट भारतमा जहिले पनि चर्चा हुन्छ, भारतको स्वतन्त्रताको जब कुरा हुन्छ, तब तपाई र तपाईको इतिहास यति मात्रै भन्छकी गान्धीको नेतृत्वमा हामी भारतीय जनताले लडाईंको सफल बनाएका हौँ ।’

हाम्रा पूर्वनेता बिपी, मनमोहन, तत्कालीन धेरै नेताले भारतको आन्दोलनमा गान्धी र अहिंसात्मक आन्दोलनमा सहभागी जनाउने मात्रै नभइ जेलमा बसेको उहाँले चर्चा गर्नुभयो । भारतीय राजनीतिज्ञ, साहत्यिकार, इतिहासकार यसलाई महत्व नदिएको उहाँले आरोप लगाउनुभयो । ‘हामीले पनि तपाईहरुलाई स्वतन्त्र रहन सहयोग गरेका छौँ । तपाईहरु नेपालमा हामीले स्वतन्त्रता दियौँ भन्नुहुन्छ । लोकतन्त्र दियौँ तर हामीले गरेको सहयोगको याद किन गर्नुहुन्न’ उहाँले प्रश्न गर्नुभयो ।  

नेता निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको बिरुद्धमा कुरा भएको भए त्यसबाट सचेत रहनुपर्ने बताउनुभयो । प्रणाली बदल्न जरुरी नरहेको र बरु प्रणाली बलियो बनाउन संविधानमा थप संशोधन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।