गोरखापत्र अनलाइन
काठमाडौं, असोज १५ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको विरुद्धमा आवाज उठिरहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
समाजमा असहिष्णुता बढ्दैगएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले एसियालाई शान्ति क्षेत्रको रुमपा विकास गर्नुपर्ने बताउनुभयो । शान्तिका पक्षहरूले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘दक्षिण एसिया शान्तिको पवित्र स्थल हो । आजभन्दा २६ सय वर्षअघि गौतमबद्धले यहीँबाट शान्तिको सन्देश छर्नुभयो । त्यसको उत्तराधिकारीको रूपमा महात्मा गान्धी २४ सय वर्षपछि उहाँ हुनुहुन्थ्यो । शान्तिका अग्रदूत जन्मिएको यो दक्षिण एसियामा हामीले शान्तिलाई किन कल्चर बनाउन सकेका छैनौँ ?’
पछिल्लो समय विज्ञान र प्रविधिमा जुन ढङ्गको तीव्र विकास भएको छ, गणतन्त्र आएको १६ वर्ष बित्दा नबित्दै समाजमा जुन डङ्गको असन्तुष्टि व्यक्त भइरहेको छ, यसलाई गलत दिशातिर लैजाने, लोकतन्त्रकै विरुद्ध, राष्ट्रिय एकताकै विरुद्ध प्रयोग गर्न खोज्नेखालका प्रवृत्तिहरू देखापरिरहेको उहाँले चिन्ता व्यक्त गर्नुभयो । हामी शान्तिका पक्षधरहरूले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी छ उहाँको भनाइ छ । नेता ज्ञवालीले समाजमा असहिष्णुरुपी संस्कृतिको विकास हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।