रमेश पौडेल
पोखरा, असोज १५ गते । एमालेको गण्डकी प्रदेश पहिलो प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको अधिवेशन मौसम खराबीका कारण जहाज नचलेपछि उहाँ आउन सक्नु भएन ।
अधिवेशनको उद्घाटन पार्टीका महासचिव शङ्कर पोख्रेलले गर्नुभयो । सो अवसरमा महासचिव पोख्रेलले गठबन्धन सरकारले देश समृद्धितर्फ नभई बरबादीतर्फ लगिरहेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले सुशासन र महँगी नियन्त्रण गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा (एमाले) पहिलो दल हुने दाबी गर्नुभयो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताउनुभयो । लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवालाई भ्रम छरिरहेको आरोप उहाँले लगाउनुभयो । उपमहासचिव गुरुङले गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभयो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचार र महँगीमा डुबेको आरोप लगाउनुभयो । एमालेका गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्टले पार्टीभित्र लोकतन्त्रको पूर्ण अभ्यास गरी नेतृत्व चयन गर्ने बताउनुभयो । उहाँले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनका लागि गण्डकी प्रदेशभरिका प्रतिनिधि पोखरा आएका छन् । आज र भोलि हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए भोटिङबाट नेतृत्व चयन हुने जानकारी दिनुभयो ।
एमाले गण्डकी प्रदेश अध्यक्षका लागि कृष्ण थापा, नवराज शर्मा, राजीव पहारी, मायानाथ अधिकारीलगायतको चर्चा छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो ।