• ९ पुस २०८१, मङ्गलबार

मलङ्गवाको कर्फ्यू हट्यो

blog

जिल्ला प्रशासन कार्यालय सर्लाही । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असोज १५ गते । सर्लाही सदरमुकाम मलङ्गवामा लगाइएको कर्फ्यू पूर्णरुपमा हटेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सदरमुकामको अवस्था सामान्य बनेको ठहरगरी कर्फ्यू हटाउने निर्णय गरेको हो । 

गएको असोज ४ गते साँझ गणेशपूजाको मूर्ति सेलाउन लैजानेक्रममा दुई समुदायबीच झडप भएपछि मलङ्गवामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको थियो । 

स्थिति सामान्य बनेपछि गएको बिहीबारदेखि दिनभरको कर्फ्यू निष्क्रिय पारेर रातिको समयमा मात्रै निरन्तर कर्फ्यू आदेश जारी हुँदैआएको थियो । दुई समुदायबीच तनावको स्थिति सहज बनेपछि आइतबार रातिबाट कर्फ्यू हटाइसकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 

सुरक्षा समितिको बैठकले दुई समुदायबीचको दूरी घटाउन र सामाजिक सद्भाव कायम राख्न आगामी बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा मलङ्गवामा सद्भाव रैली निकाल्ने समेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बैठकले फेरि पनि सामाजिक सद्भाव भड्काउने, ढुङ्गामुढा गरी व्यक्तिगत तथा सरकारी सम्पत्तिमा क्षति गर्नेको पहिचान गरी कानून बमोजिम कारवाही गर्ने निर्णय गरेको छ । 

सदरमुकाम मलङ्गवामा सामाजिक सद्भाव कायम राख्न भन्दै जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थालगायतले अपिल जारी गरेका छन् । मलङ्गवासहित लालबन्दी, हरिवन, बयलवास, बरहथवालगायतका स्थानमा सद्भाव रैली निकालिएको छ । 

पछिल्लो समय सदरमुकाम मलङ्गवा सामान्य बनेको स्थानीयले बताएका छन् । बजारका केही पसलबाहेक अधिकांश पसल खुलेका छन् । यातायात, कार्यालय, बैङ्क तथा वित्तीय संस्था निर्वाध सञ्चालन भइरहेका छन् ।