• ४ जेठ २०८१, शुक्रबार

सामाजिक सद्भाव प्रगाढ बनाउन आग्रह

blog

सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहभागी धर्मगुरु तथा सहभागीहरु । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, असोज १५ गते । सामाजिक सद्भाव नेपालगन्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुहरूले आग्रह गर्नुभएको छ । यहाँका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लावासीमा अपिल गर्नुभएको हो । 

जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव प्रगाढ बनाउन सम्पूर्ण जिल्लावासीमा अपिल गर्ने निर्णय गरेको छ । 

बैठकले मङ्गलबार बिहान बिपी चोकबाट धर्मावलम्बी, राजनीतिक दल, नागरिक समाज सम्मिलित सद्भाव रेली प्रदर्शन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी आचार्यको अध्यक्षतामा भएको बैठकमा हिन्दु धर्मगुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीलगायतका धर्मगुरु, राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधि तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी आचार्यले गोरखापत्रसँग भन्नुभयो, ‘सामाजिक र धार्मिक सद्भावविरुद्ध गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैले आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय पनि भएको छ ।’

सामाजिक सञ्जालमा धर्म, समुदायविरुद्ध अभिव्यक्ति दिइएको भन्दै आइतबार नेपालगन्जमा प्रदर्शन भएपछि त्यसको प्रतिक्रियास्वरुप विभिन्न गतिविधि हुन सक्ने भन्दै नेपालगञ्जवासीले सद्भावको पक्षमा अभियान नै चलाएका छन् ।