• १३ मंसिर २०८१, बिहिबार

निःशुल्क आँखा शिविर सञ्चालन

blog

आँखा शिविरमा निःशुल्क आँखा जाँच गरिदैँ । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, असोज १५ गते । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । मध्यविन्दु वडा १५ पर्सौनीमा गरिएको शिविरमा पाँचसय बिरामीले स्वास्थ्य जाँच गराएका छन् । 

मध्यविन्दु नगरपालिकाको सहयोगमा रोटरी क्लब अफ कावासोतीले सञ्चालन गरेको शिविरमा बिरामीले निःशुल्क स्वास्थ्य उपचार गराएका हुन् । जसमध्ये १०८ जनामा मोतियाविन्दु समस्या देखापरेको मध्यविन्दु आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदीप भट्टराईले बताउनुभयो । 

एकै पटक वार्डमा यति धेरैमा मोतिया विन्दु देखा पर्नाले नवलपुर जिल्लामा मोतियाविन्दुको भयावह स्थिति देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आँखा परीक्षण शिविरमा आएका करिब २२ प्रतिशतमा मोतियाविन्दु देखा परेको छ । बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण हुन् ।”

मोतियाविन्दु रोगको उपचार शल्यक्रिया मात्र भएकाले ग्रामीण भेगमा आँखाको परीक्षण गर्न सर्वसाधारणले आनाकानी गर्दा मोतियाविन्दुका बिरामी बढेका छन् । अहिले भेटिएका मोतियाविन्दुका बिरामीलाई मङ्सिरको दोस्रो साता तीन दिन निःशुल्क शल्यक्रिया गरिने रोटरी क्लब अफ कावासोतीका अध्यक्ष हरिहर अधिकारीले बताउनुभयो । 

पर्सौनीमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ वडामा निःशुल्क आँखाजाँच गरिएको मध्यविन्दु नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा अन्य वडामा पनि निःशुल्क आँखा शिविर गर्ने योजनासाथ अघि बढेको उहाँले बताउनुभयो ।