• १३ मंसिर २०८१, बिहिबार

सुदूरपश्चिममा १५ हजार कुकुरलाई रेबिजविरुद्धको खोप

blog

अविनाश चौधरी
धनगढी, असोज १४ गते ।
 सुदूरपश्चिम प्रदेशमा १५ हजार कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । रेबिज रोगबाट जोगाउनका लागि घरपालुवा र सामुदायिक छाडा कुकुरलाई खोप दिइएको हो । असोज ५ गतेबाट सप्ताहव्यापी अभियान सञ्चालन गरेर प्रदेशको नौ वटै जिल्लामा कुकुरहरूमा रेबिजविरुद्धको खोप लगाइएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जानकारी दिएको छ ।

सो कार्यालयका प्रमुख डा. नरेशप्रसाद जोशीले सबैभन्दा बढी कैलालीमा पाँच हजार कुकुरमा रेबिजविरुद्धको खोप लगाइएको जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिकामामात्रै तीन हजार बढी कुकुरमा रेबिजविरुद्धको खोप लगाइएको छ । धनगढी बजार क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी रहेको छ ।

गतवर्षमात्रै कैलाली, कञ्चनपुरमा कुकुर, गाई, भैँसी, स्यालमा रेबिज पुष्टि भएको थियो । आठ महिनाको अवधिमा ५५ वटा जनावरमा रेबिज पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ । भुस्याहा कुकुरको बिगबिगी भएर रेबिजको त्रास बढेकाले कुकुरलाई रेबिजविरुद्धको खोप प्रदान गरिएको हो । यसैगरी, रेबिज रोगबारे सचेतना फैलाउन र कुकुरलाई रेबिजविरुद्धको खोप दिनका लागि विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।