• १२ साउन २०८१, शनिबार

घटस्थापना अघिनै अग्रिम टिकट बुकिङ् खुला गर्ने तयारी

blog

फाइल तस्बिर

काठमाडौं, असोज १४ गते । घटस्थापनाको एक साता अघि नै दसैँका लागि अग्रिम टिकट बुकिङ् खोल्ने तयारी भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार दसैँका लागि लक्षित गरी अग्रिम रूपमा टिकट बुकिङ् घटस्थापनाको एक साता अघिबाट खोल्नका लागि तयारी भइरहेको छ । 

अहिलेसम्म मिति किटान नभए पनि गत सालजस्तै यस वर्ष पनि एक साता अघिबाट नै अग्रिम टिकट खोल्ने तयारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्षको दसैँका लागि अग्रिम टिकट घटस्थापनाको एक साता अघिबाट खोल्ने तयारी छ । अहिलेसम्म मिति किटान नभए पनि गतसालजस्तै यसवर्ष पनि एक साता अघि नै खोल्ने गरी काम अघि बढेको छ ।”

यस वर्षको घटस्थापना असोज २८ गते छ । यसको करिब साता दिन अघिबाट मात्र अग्रिम टिकट बुकिङ् खोल्नेगरी तयारी भइरहेको पनेरुले बताउनुभयो । अग्रिम टिकट बुकिङ् खोल्ने विषयमा पहिलो चरणको वार्ता समेत सम्पन्न भएको उहाँको भनाइ छ । सुरक्षा, यातायात, सडक र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला सबैसँग छलफल भएको उहाँले बताउनुभयो । आगामी आइतबार बुकिङको मिति तोकिने उहाँको भनाइ छ ।

यसवर्षको घटस्थापना असोज २८ गते छ । यसको करिब साता दिन अघिबाट मात्र अग्रिम टिकट बुकिङ् खोल्नेगरी तयारी भइरहेको पनेरुले बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरले अग्रिम टिकट बुकिङ् खोल्नुअघि नै देशका सबै सडकमा परेका खाल्डाखुल्डी पुर्नुपर्ने बताउनुभयो ।  

बिग्रिएको बाटोमा सवारी साधन चलाउनुपर्दा गन्तव्यमा यात्रुलाई पुगाउन कठिन हुने र गाडीलाई काठमाडौं फर्कन ढिला हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अग्रिम टिकट बुकिङ् खोल्नुभन्दा अघि नै देशभरका सबै सडकहरुमा परेका खाल्डाखुल्डीहरु पूर्ण रुपमा पुर्नुपर्छ । नत्र यात्रुहरुलाई समयमै गन्तव्यमा पुगाउन सकिँदैन ।”

उपत्यकाबाट दशैँका लागि करिब २० लाख मानिस बाहिर निस्कन सक्ने विगतको तथ्याङ्कले देखाएकाले गाडीको व्यवस्थापनमा कुनै समस्या नहुनेगरी आफूहरुले काम गर्ने उहाँको भनाइ छ । घटस्थापनापछि रुट परमिट खारेज गरेर कम चाप हुने स्थानका सवारीहरु बढी चाप हुने क्षेत्रमा सञ्चालन गर्नका लागि माग समेत गरेको उहाँले बताउनुभयो । दशैँमा यात्रुहरुको चाप पश्चिम क्षेत्रमा बढी हुनेभएकाले पूर्वको तुलनामा पश्चिममा सवारीको चाप बढी हुने स्वाँरको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।