• १३ मंसिर २०८१, बिहिबार

जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो

blog

उपचारका लागि जिल्ला अस्पताल आएका बिरामी । तस्बिर : सलिम मिया

सलिम मिया
बिजुवार, असोज १४ गते । 
प्युठान जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।  विशेषज्ञसहितको डाक्टर र सेवा सुविधा थपिएपछि अस्पताल बिरामीले भरिन थालेको हो ।

पछिल्लो समय दैनिक तीन सय बिरामी उपचारका लागि ओपिडीमा आउन थालेको जिल्ला अस्पतालले जनाएको छ । बिरामी बढेपनि अस्पतालले सेवा दिने क्षमता भने बढाउन सकेको छैन ।

बेडको अभावमा भुईँमै बसेर बिरामीहरू उपचार गराउन बाध्य छन् । नौ बेड क्षमताको आकस्मिक कक्षमा दिनहुँ ३० देखि ४० जना बिरामी आउँछन् । एउटै बेडमा दुई–तीन जना बिरामी राख्नुपरेको छ । अस्पतालमा अहिले ५३ बेड छन् ।

बिरामीको चाप बढेकाले शय्या नपुगेर भुईँमा राखेर उपचार गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमीला खनालले बताउनुभयो । अस्पतालमा सेवा लिने बिरामी बढे पनि जनशक्ति र संरचनाको अभाव भने कायमै छ ।

१५ शय्याको अस्पताल स्तरोन्नतिका नाममा ५० शय्याको बनाइएको छ । तर ५० शय्याबाट दिनुपर्ने सेवाका लागि भवन पर्याप्त छैन ।  डा.खनालले भन्नुभयो, ‘‘आवश्यक पूर्वाधार नहुँदा सेवा प्रवाह गर्न समस्या छ ।’’

बिरामीको उपचारका लागि जिल्लाका अरू स्थानीय तहबाट सहयोग लिएर जनशक्ति परिचालन गर्न थालिएको मेडिकल सुपरिटेन्डेन्ट डा खनालले जानकारी दिनुभयो ।

अस्पतालमा सात जना मेडिकल अधिकृत र सात जना विशेषज्ञ चिकित्सकले नियमितरुपमा सेवा दिँदै आएका छन् । अस्पतालमा बिरामीको सङ्ख्या बढेपछि जनशक्तिको कमीले नियमित उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समस्या परेको छ ।