• २ असार २०८१, आइतबार

बजेट हुँदाहुँदै विद्यालयले शैक्षिक सामग्री गरेन खरिद

blog

शिवालय मावि कुश्मा, पर्वत । तस्बिर : प्रनिश गिरी

प्रनिश गिरी

कुश्मा (पर्वत), असोज १४ गते । पर्वतको कुश्मा नगरपालिकामा रहेका केही विद्यालयले आइटी ल्याब र पुस्तकालय स्थापना गर्न भनी बजेट आउँदा समेत आवश्यक शैक्षिक सामग्री खरिद नगरेको पाएको छ । 

आइटी ल्याब र पुस्तकालय सञ्चालन गर्न भनी करिब दुई वर्ष पहिले शिक्षा मन्त्रालयबाट प्राप्त रकमलाई विद्यालयले प्रयोग गरेका छैनन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भनी शिक्षा मन्त्रालयले आइटी ल्याब र पुस्तकालय स्थापना गर्न कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदान दिएको थियो । 

आइटी ल्याब र पुस्तकालय सञ्चालन गर्न भनी ६ लाख ५० हजारका दरले दुवै शीर्षकमा बजेट विनियोजन भएको छ । कुश्मा नगरपालिकाभित्र रहेका शैक्षिक अनुदान प्राप्त गर्नेमध्ये केही विद्यालयले लामो समयसम्म पनि शैक्षिक सामग्री खरिदमा रुचि देखाएका छैनन् । 

नगरपालिकाको हिमालय मावि खुर्कोटलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम आइसिटी अन्तर्गत ६ लाख ५० हजार प्राप्त भएको हो । शिवालय माविलाई विद्यालय खातामा आइटी ल्याब र पुस्तकालय स्थापना दुवैका लागि गरी १३ लाख रकम प्राप्त भएको हो । 

त्यसैगरी खरीबोटे गोदे मावि पाङले साइन्स ल्याबका लागि शैक्षिक अनुदान ६ लाख ५० हजार पाएको थियो । यस विद्यालयका प्रअ घनश्याम पौडेलका अनुसार ल्याब सञ्चालन भइसकेको छैन । ल्याब सञ्चालनका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि प्रक्रिया अघि बढाएको विद्यालयका प्रअ पौडेलले बताउनुभयो । 

खरीबोटे माविमा विद्यार्थी सङ्ख्या जम्मा २ सय रहेको छ । विद्यालयले शैक्षिक अनुदानबापत प्राप्त रकम हालसम्म प्रयोग नगर्दा विद्यार्थीको सिकाइ क्षमतामा वृद्धि हुन नसकेको अभिभावकको गुनासो छ । 

सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दो दरमा छ । विद्यालयले शैक्षिक सुधारका लागि प्राप्त भएको अनुदान रकमले समयमै शैक्षिक सामग्री खरिद गर्न सकेका छैनन् ।

हिमालय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पौडेलले आफू केही महिना मात्र पहिले अध्यक्ष भएको हुँदा आइटी ल्याब सञ्चालनबारे केही जानकारी नभएको बताउनुभयो । 

सोही विद्यालयका प्रअ माधव रेग्मीले विद्यालयमा कोठाको अभावले गर्दा आइटी ल्याब स्थापना गर्न नसकिएको र निर्माणाधीन भवनको काम सकिएपछि मात्रै स्थापना गर्ने बताउनुभयो । विद्यार्थी सङ्ख्या करिब ३ सय ३० जना रहेको हिमालय मावि नमुना मावि अन्तर्गत पर्छ । 

जिल्लाको सदरमुकाम कुश्मामा रहेको शिवालय मावि कुश्माले समेत आइटी ल्याब र पुस्तकालय स्थापना गर्नमा कुनै चासो देखाएको छैन । विद्यार्थी सङ्ख्या ३ सयको हाराहारीमा रहेको विद्यालयको कम्प्युटर कक्षामा पुराना मोडेलका केही स्थान कम्प्युटर छन् । 

विद्यार्थीले राम्रोसँग कम्प्युटर कक्षा लिन पाएका छैनन् । विद्यालयले आइटीका लागि भनी आएको लाखौँ विद्यालयको खातामा थन्काएर राखेको छ । आइसिटी ल्याब र पुस्तकालय किन स्थापना गर्न सक्नुभएको छैन भनी प्रश्न राख्दा शिवालय माविका प्रअ भूपेन्द्र चापागाईँले विविध कारणवश काम गर्न नसकिएको र अव छिट्टै खरिद प्रक्रिया अगाडि बढाइने जवाफ दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका सदस्य मानसिंह भण्डारीले भन्नुभयो, “विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दो छ । राम्रो पढाइ भएन भन्ने विद्यार्थीको गुनासो आइराख्दा सरकारले अनुदान दिएको रकमबाट शैक्षिक सामग्री खरिद गर्नुपर्छ ।” शिक्षामा सुधार गर्नुपर्छ भन्दा पनि प्रअ र व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले खरिद प्रक्रिया नै अगाडि लैजान खोजेको अवस्था छैन ।” कतिपय विद्यालयले शैक्षिक सामग्री खरिद गरेर पनि विद्यार्थीलाई प्रयोग गर्ने वातावरण मिलाउन नसकेको अभिभावकको गुनासो छ । 

कुश्मा नगरपालिकाका शिक्षा शाखाको जिम्मेवारी लिनुभएका दीपक सुवेदीले आफूले शैक्षिक अनुदान रकमको सदुपयोग गर्न बारम्बार ताकेता गरेको भए पनि विद्यालयले बेवास्ता गरेको बताउनुभयो ।