• २८ वैशाख २०८१, शुक्रबार

विकट गाउँमा सौर्य ऊर्जा वितरण हुने

blog

चरीकोट समाचारदाता

चरीकोट, असोज १४ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा रहेको नाँगाउँमा सौर्य ऊर्जा उत्पादन गरिने भएको छ । दोलखाको अति दुर्गम गाउँको रूपमा चिनिने नाँ उपत्यकामा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले यसै वर्ष विद्युत् सेवा पु¥याउने  भएको हो । नाँगाउँमा विद्युतीकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राख्ने तयारी भइरहेको छ ।

दोलखाका अन्य गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् वितरण गरिएको भए पनि चार हजार दुई सय मिटरको उचाइमा रहेको यो गाउँमा भने विद्युत् पुग्न सकेको छैन । गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले सो गाउँ पुगेर सोलार प्लान्टको शिलान्यास गर्नुभयो । विद्युत् र टेलिफोन सेवा पु¥याउन चुनौतीपूर्ण रहेको सो गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् पु¥याउन असम्भव भएपछि सौर्य ऊर्जा उत्पादनका लागि प्लान्ट निर्माण गर्न लागेको अध्यक्ष कार्कीले बताउनुभयो ।

नाँगाउँ गौरीशङ्कर–९ मा पर्ने रोल्वालिङ उपत्यकामा पर्छ । यो च्छोरोल्पा हिमताल नजिकैको गाउँ हो । यहाँ करिब ४० घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँ बढी हिउँ पर्ने हुँदा मङ्सिरदेखि चैतसम्म यहाँका बासिन्दा बेदिङमा बसोबास गर्छन् ।

पर्यटकीय क्षेत्र भएकाले यहाँका बासिन्दा ‘होमस्टे र होटल’ चलाएर जीविकोपार्जन गर्छन् । सिजनमा पुरुष हिमाल आरोहण र ट्रेकिङमा जान्छन् । नाँ र बेदिङलाई सगरमाथा आरोहीको गाउँका रूपमा समेत चिनिन्छ । पर्यटन प्रवर्धनका लागि गाउँपालिकाले थप पूर्वाधार निर्माण र प्रचारप्रसारमा ध्यान दिने कार्कीले बताउनुभयो । भर्खरै  गाउँपालिकाले स्वास्थ्य शिविर सम्पन्न गरेको जानकारी दिँदै कार्कीले नाँ गाउँको विकास प्राथमिकतासाथ अगाडि बढाइने बताउनुभयो ।

३० किलोवाट क्षमताको सौर्य मिनिग्रिड परियोजनाको शिलान्यास भएसँगै लामो समयदेखि अन्धकारमा रहेको नाँगाउँमा विद्युत् सेवा विस्तार हुने भएपछि स्थानीय खुसी भएका छन् ।

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ९० प्रतिशत अर्थात् तीन करोड १४ लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशङ्कर गाउँपालिकाको नौ लाख ९८ हजार गरी कुल तीन करोड ४८ लाख रुपियाँ लगानी रहेको छ ।

आयोजना छ महिनामा सक्ने गरी सनब्रिज सनस्टार जेभीले निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीका सञ्चालक कुमार बस्नेतले तोकिएको समयमा नै निर्माण सम्पन्न गरेर नाँगाउँमा विद्युत् सेवा प्रदान गरिने बताउनुभयो ।