• १३ साउन २०८१, आइतबार

बोका खसी बनाउन रोजिन्छ शुक्रवार

blog

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटमा खसी बनाउन ल्याइएका बोकाहरू । तस्बिर बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा, असोज १४ गते ।  शुक्रवार बोका खसी बनाए घाउ नपाक्ने र चाँडै निको हुने परम्परागत मान्यता दोलखामा अझै पनि कायम रहेकाले यो दिन धेरै सङ्ख्यामा आउने गरेका छन् । 

कुनै दिन एक-दुई वटा त कहिले शून्य हुन्छन् तर शुक्रवार भने बोका खसी बनाउने धेरै सङ्ख्यामा शुक्रवार नै देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटका पशु चिकित्सक पलट चौधरीले जानकारी दिनु भयो । 

उहाँका अनुसार बारको फरक नपर्ने भए तापनि किसानमा यो मान्यताको छाप बसेको छ । दिनभर आइरहन्छन् आज १९ वटा बोका खसी बनाएका छन् । परम्परागत अन्धविश्वास पनि किसानमा विश्वास बनेर मानस पटलमा रहेकाले यस्तो हुन गएको हो । 

भीमेश्वर नगरपालिका–६ की रेणुका गुभाजुले भन्नु भयो, एक-दुई चोटि अरू बारमा बोका खसी बनाउँदा घाउ पाकेर निको हुन धेरै दिन लाग्यो, झन्डै बोका नै मरेन । बल्ल बचाइयो । त्यस घटनाले शुक्रवार नै बोका खसी बनाउने गरिएको छ । घाउ पाक्दैन, चाँडै सुक्छ । जसले जे जे भने पनि यसमा हाम्रो विश्वास छ । 

भीमेश्वर नगरपालिका–३ का निरा थामीको भनाइ पनि उस्तै छ । उहाँले भन्नु भयो, के अन्धविश्वास भन्नु, शुक्रवार बोका खसी बनाउँदा सप्रेर गएको छ जान्छ पनि । अरू बारमा बोका खसी बनाउँदैनौँ । बच्चाहरूको नाक, कान छेड्ने काम पनि शुक्रवार नै गछौँ । घाउ पाक्दैन र चाँडै सुक्छ पनि । विश्वास सबभन्दा ठुलो कुरा हो । 

विश्वासमै सन्सार अडेको छ । वडा नम्बर ३ का रत्नप्रसाद चौलागाईँले भन्नु भयो,विज्ञानमा त्यत्ति व्यवहारिक नहुँदा विश्वास लाग्दैन । बाबुबाजेका पालादेखि नै गर्दै आएका सर्व मान्य कामहरू हामीले छोडेका छैनौँ । अरू दिन खसी बनाउँदा बोका गुमाउनु परेको अतीतले शुक्रवार नै बोका खसी बनाइन्छ र बनाउँदै आएका छौँ ।  

अरू पालिकामा पनि शुक्रवार नै बढी हुने देखिएको छ । कुनै कुनै पालिकाले मात्र अभिलेख पठाउने गरेका छन् । सबैको आएको छैन । स्थानीय सरकार बनेपछि समन्वयको अभाव हुने गरेको देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटका पशु चिकित्सक चौधरीले बताउनु भयो ।