• १९ पुस २०८१, शुक्रबार

पाथीभरा मन्दिरको रकमबारे छानबिन गरिने

blog

पाथीभरा मन्दिरको हिसाब–किताब सार्वजनिक गर्दै इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, असोज १३ गते । इलामको कोल्बुङमा रहेको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम हिनामिना भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन गर्नेभएको छ । 

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले आज पाथीभराको भेटी र आर्थिक हिसाब किताबका विषयमा गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्दै अब थप छानबिन र कारबाही अघि बढाउने बताउनुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले पाँचवर्ष अघिदेखिको मन्दिरको भेटी तथा पूर्वाधारको काममा भएको खर्च अवस्थाको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको थियो । प्रतिवेदनमा ८८ लाख ८३ हजार एकसय २४ रुपियाँको हिसाबकिताब नमिलेको पाइएको छ । 

प्रतिवेदनमा आर्थिक वर्ष २०७५ असोज २२ देखि २०७९ माघसम्म कुल तीन करोड १४ लाख ६२ हजार रुपियाँ आम्दानी भएकोमा दुई करोड २० लाख ९१ हजार खर्च र बैङ्क मौज्दात १७ लाख ६६ हजार रुपियाँ छ । बाँकी रकम ८८ लाख ८३ हजार एक सय २४ रुपियाँबारे  प्रतिवेदनमा उल्लेख छैन । 

आर्थिक वर्ष २०७५/७६ मा ८६ लाख ६ हजार रुपियाँ आम्दानी र ९१ लाख ९१ हजार रुपियाँ खर्च भएको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ मा ७१ लाख ४३ हजार आम्दानी र ५० लाख २५ हजार खर्च, आर्थिक वर्ष २०७७/७८ मा ४२ लाख तीन हजार आम्दानी र ३६ लाख ५० हजार खर्च, आर्थिक वर्ष २०७८/७९ मा ८२ लाख आम्दानी र २८ लाख १३ हजार खर्च तथा आर्थिक वर्ष २०७९/८० मा ३३ लाख आम्दानी र १४ लाख खर्च भएको देखिएको प्रजिअ पोख्रेलले जानकारी दिनुभयो । 

प्रजिअ पोख्रेलले छानबिन समितिले तयार गरेको प्रतिवेदन थप छानबिन र कारबाहीका लागि टेक्ने बलियो आधार भएको भन्दै अब प्रशासनले थप छानबिनको काम अघि बढाउने बताउनुभयो । ‘अख्तियारले पनि पाथीभरा मन्दिरको विषयमा चासो राखेर पत्र पठाएको छ । अख्तियारले गृह मन्त्रालयको कानुन महाशाखासँग समेत परामर्श लिएर थप छानबिनको काम सुरु गर्नेछौँ ।’ 

प्रजिअ पोख्रेलले भन्नुभयो, ‘काटिएका नगदी रसिदहरू हराएका छन्, हराएको रकमको अनुमानित विवरण समेत प्रतिवेदनमा देखाइएको छ । त्यसैले दाता र भक्तजनले चढाएको मन्दिरको भेटी र सम्पत्तिमाथि कसैलाई पनि रजाइँ गर्न पाउने छैन, प्रशासन बलियो छ ।’ 

रोङ गाउँपालिकामा रहेको मन्दिरको रकम र भौतिक पूर्वाधारका लागि भएको यकिन खर्च कति हो भन्ने विषयमा अझ सत्यतथ्य छानबिन गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनुभयो ।