• २५ मंसिर २०८०, सोमबार

मिसन ८४ जनताको अभियान : सभापति लामिछाने

blog

रास्वपाका सभापति रवि लामिछाने शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रममा । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, असोज १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिसन ८४ नेपाली जनताको अभियान हुनुपर्ने बताउनुभएको छ । 

रास्वपाको नेपालगन्ज नगर भेलालाई शनिबार सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक दलले देश बनाउने हो भने अहिले पनि चार वर्षको पर्याप्त समय रहेको दाबी गर्नुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाहिर राखेर प्रमुख दलहरू मिलेर सरकार बनाउन उहाँले सुझाव दिनुभयो । सभापति लामिछानेले भन्नुभयो, ‘लामो समय सत्तामा रहेका दल र नेताहरूले अब पनि मिसन ८४ भन्नु फेरि पनि जनतामाथिको बेइमानी र धोका हो, मिसन ८४ को अभियान राजनीतिक दलले नभई जनताले चलाउनुपर्ने अभियान हो ।’

वर्तमान सरकारलाई शङ्काको सुविधा दिएर समर्थन जनाएको भन्दै सभापति लामिछानेले सरकारले प्रत्येक दिन जनविरोधी र देश विरोधी निर्णय गर्दैआएको आरोप लगाउनुभयो । सरकारको निर्णयको विरोध गर्ने हो भने माइतीघर मण्डलामै बास हुने भन्दै उहाँले सरकारको ध्यान अलोकप्रिय निर्णयमा जानेगरेको बताउनुभयो । 

अनुसन्धानमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई सरुवा गरेर सरकारले थप व्यक्तिलाई जोगाउने काम गरिरहेको उहाँको भनाइ छ । राजनीतिक दलका नेताहरू कमाउधन्दामा लागेका कारण देश बन्न नसकेको भन्दै राजनीतिक दलका भातृ सङ्गठनका कारण पनि समस्या उत्पन्न हुनेगरेको उहाँको भनाइ छ । 

राजनीतिक दलको नेतृत्वले मतदातालाई नभई चन्दादातालाई हेरेर कानुन बनाउने गरेको भन्दै उहाँले राजनीतिक दलको नेतृत्वका कारण देशले दुःख पाएको टिप्पणी गर्नुभयो । उहाँले जनताले सिटामोल र जीवनजल नपाउने तर नेताहरू विदेशमा उपचार गर्न जाने प्रचलन बन्द गर्नुपर्ने बताउनुभयो । 

पार्टीमा परिवारवाद, आफन्तवाद र कार्यकर्तावाद निषेध गरिएको भन्दै उहाँले व्यक्तिको आदेशमा नभई विधिको शासनमा पार्टी सञ्चालन भइरहेको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य रमेश प्रसाईँ, प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी लगायतले मन्तव्य राख्नुभएको थियो ।