• १० मंसिर २०८१, सोमबार

विगत र वर्तमानका दस्ताबेज

blog

नेपाली साहित्यमा विशिष्ठ नाम हो मन्जु काँचुली । उहाँका कविता, कथा, नाटक, लघुकथालगायत दर्जनौँ कृति प्रकाशित छन् । विसं २०१७ देखि कविता लेखनमा सक्रिय काँचुली दर्जनौँ साहित्यिक सङ्घ–संस्थाबाट पुरस्कृत हुनुभएको छ । हालसम्म पनि नेपाली भाषासाहित्यमा आफ्ना अमूल्य क्षण अर्पण गरिरहनु भएको छ । यसैको निरन्तरता हो, उहाँको पछिल्लो लघुकथा कृति ‘काँचुलीका लघुकथा’ । नेपाली साहित्यमा उहाँका कृतिहरू पढ्ने अवसर निरन्तर पाएका छौँ । ‘काँचुलीका लघुकथा’ कृतिले नेपाली लघुकथामा उहाँको गर्विलो उपस्थिति देख्न सकिन्छ । जीवनका अनुभव तथा नेपालको राजनीतिक परिवर्तन र त्यसको परिणाम जनतासम्म पुग्न नसकेका तिता क्षणका साक्षी लेखकका अनुभूति नेपाली साहित्यमा हामीले पढिरहेका छौँ, निरन्तर पढिरहने छौँ । 

मन्जु काँचुलीको पहिलो सिर्जना कथा पढेको हुँ मैले । त्यसैले पनि म उहाँलाई कविभन्दा पनि कथाकारको रूपमा बढी चिन्दछु । यद्यपि उहाँका सिर्जनाहरू भने सबै विधामा स्तरीय नै लाग्छन् । कुनै पनि लेखक देशभन्दा माथि छैनन्, देशलाई मुटुमा राखेर सिर्जना गर्ने स्रष्टा नै सच्चा सर्जक हुन्छन् । काँचुलीका सिर्जनाहरू राष्ट्र र राष्ट्रियताप्रति अगाध स्नेह बोकेर लेखिएका उच्च स्तरका हुन्छन् । 

वर्तमान समयसँग बयेली खेल्दै विगतका क्षणहरूसँग साक्षात्कार गर्न सकिन्छ, काँचुलीका लघुकथामार्फत । नारीमनका भावलगायत मानवीय संवेदनाहरू प्रस्फुटित भएका यी लघुकथाहरू विगत र वर्तमान समयका महत्वपूर्ण दस्ताबेजका रूपमा पढ्न सकिन्छ । विश्वका कुनै पनि स्थानमा मानवीय संवेदना त एउटै हुने रहेछ, उहाँको लेखनमा समग्र मानवीय संवेदनाका स्वर प्रस्फुटित भएको पाइन्छ । यसका साथै नेपाली राजनीतिमा देखापरेका विकृति र चरम लापरबाहीबाट जर्जर अवस्थामा पुग्न लागेको हाम्रो समाजलाई लधुकथामार्फत सजग गराउन सफल छन् ‘काँचुलीका लघुकथा’हरू ।

एउटा सानो घरमा आमाले आफ्ना सन्तानहरूलाई दुःख सुख गरेर हुर्काउँछिन्, त्यही सन्तान ठुलो भएर ठुलो र राम्रो घर बनाउँछन् तर त्यो घरमा आमाका सामानले स्थान पाउँदैनन् । यो दुःखद यथार्थहरू ‘काँचुलीका लघुकथा’मार्फत प्रस्तुत भएका छन् । खोला तरिसकेपछि लौरो बिर्सने जत्थाहरूको बाहुल्यता बढेको वर्तमान समयमा यस्तो कथाको महìव धेरै हुन्छ । लामो समय यो समाजसँग पौँठाजोरी गर्दै हुर्कनु भएकी कथाकार मन्जु काँचुलीको तितामिठा अनुभव लघुकथामार्फत आएका छन् । जहाँ यथार्थता छन्, सत्यता छन्, बस् साहित्यको जलपले सुन्दर र पठनीय बनेका छन् । 

‘काँचुलीका लघुकथा’ भित्र अठतिस लघुकथा छन् । सुन्दर तथा शालीन प्रस्तुतिले कृति उम्दा बनेको छ । समाजका चित्रलाई उतार्न सक्नु लेखकको महत्वपूर्ण उपलब्धि हो । यो नेपाली साहित्य लेखन, अध्ययनको लामो अनुभव र लगनशीलताको परिणाम पनि हो । विसं २०३१ मा गुरुवाचार्य कथा पुरस्कार प्राप्त गर्न सफल लघुकथा पनि यहाँ रहेको छ । ‘ओहो कस्तो रोग लागेछ भान्जा बाबुलाई । कोरोना जस्तै सरुवा रोग रहेछ कि क्या हो यो त । मलाई पनि त्यस्तै हुने गथ्र्यो । घुस खान नपाएर र देश लुट्न नपाएर पनि यस्तो रोग लाग्दो रहेछ । उसो भए म भरसक चाँडै व्यवस्था गर्छु । तिमी ढुक्क होऊ ।’ अहिले यस्ता रोगीहरूले समाज नै रोगी बनाएका छन् । काँचुलीले तिनीहरूको रोग पहिचान गर्न सक्ने डाक्टरको खोजी गर्दै लघुकथाका माध्यमबाट आह्वान गर्नुभएको छ । 

उहाँका लघुकथामा व्यङ्ग्य चेतनाहरू प्रशस्त भेटिन्छन् । मान्छेहरू सम्मान पाउनका लागि कति लालायित हुन्छन् र के के सम्म गर्छन् भन्ने कुरा लघुकथामार्फत आएका छन् । एउटा कविको देहवसानपछि कस्ता मान्छेले समवेदना र श्रद्धाञ्जली दिए भनेर मृत कविले हेर्दा, कवि अचम्ममा पर्छन् । उनलाई श्रद्धाञ्जली र समवेदनाका शब्दहरू पठाउने एउटासम्म पनि जीवित व्यक्ति थिएन किनकि जीवितहरूलाई शवयात्रामा सामेल हुने, श्रद्धाञ्जली र समवेदना प्रकट गर्ने फुर्सद नै थिएन । वर्तमानमा देखिएका सूक्ष्म चेतनाहरू लघुकथामा पढ्न सकिन्छ । 

कृषिमा आधुनिकताका कुरा, जागिरमा कस्ताले नियुक्ति पाउँछन्, फगत जनता भोट हाल्नकै लागि रहेछन्, पहिचानका कुरा, पर्यावरणीय चेतना, घरेलु हिंसाका केही प्रतिनिधि घटनाहरू, ठुलाले सानालाई गर्ने व्यवहारमा नआएको परिवर्तनलगायत जीवन भोगाइको क्रममा सिकाएका अमूल्य पाठहरू लघुकथाका शीर्षक भएर आएका छन् । जीवन भोगाइको लामो अनुभव र साहित्य साधनाको निरन्तरताले खारिएका उहाँका सिर्जनाहरू जीवन तथा समाज उपयोगी हुन्छन् । 

उहाँ मात्र नभएर बुबा भीमनिधि तिवारी तथा दिदी बेन्जु शर्मा पनि नेपाली साहित्यका विशिष्ठ व्यक्तित्व हुनुहुन्छ । साहित्यलाई माया गरिरहनु, बिना स्वार्थ साहित्यमा योगदान दिनुभएका सर्जकका यस्ता कृतिहरूले नेपाली साहित्यकै गरिमा बढ्छ । अग्रज र अनुजका बिचमा पुलको काम गर्छ, त्यस कारणले पनि ‘काँचुलीका लघुकथा’ विशिष्ठ लाग्छन्, समय सापेक्ष छन् । लेखक आफैँले प्रकाशन, बजार व्यवस्थापन गर्नु, यी लेखकका दुःख हुन्, तैपनि हामीले लेख्न छोड्नु हुँदैन । यस कृतिलाई पनि लेखक स्वयम्ले प्रकाशन गर्नुभएको छ । पुस्तकको मूल्य भने १८०/– रुपियाँ तोकिएको छ ।   

Author

छविरमण सिलवाल