• १२ असोज २०८१, शनिबार

रेसुङ्गा पुग्ने सडक कालोपत्रे

blog

रमेश विश्वकर्मा

गुल्मी, असोज १२ गते । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । सदरमुकाम तम्घास बजारदेखि रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे भएको हो ।

कालोपत्रे गरिएसँगै  सवारी चालकलाई आवत–जावतमा सहज भएको छ । कालोपत्रे भएकाले रेसुङ्गा पुग्ने श्रदालु तथा पर्यटकलाई सवारी साधनमा यात्रा गर्न सहज भएको होटल व्यवसायीहरूको भनाइ छ ।

सडक सहज बन्दै गएपछि  रेसुंगा पुग्ने धार्मिक पर्यटकको संख्यामा पनि वृद्धि  भएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । सडक कालोपत्रेले आन्तारिक तथा वाह्रय पर्यटक रेसुङ्गा भित्र्याउन थप टेवा पुगेको अध्यक्ष भुसालले बताउनुभयो ।

पर्यटकीय तथा धार्मिक हिसाबले  रेसुङ्गा क्षेत्र प्रसिद्ध छ । उक्त क्षेत्रको प्रचारप्रसार गर्न रेसुङ्गा नगरपालिकाले जाउँ हिड रेसुङ्गा अभियानको समेत सञ्चालन  गरेको छ । नगरपालिकाले संचालन गरेको उक्त अभियानले समेत पर्यटन प्रवर्धनमा थप टेवा पुगेको अध्यक्ष भुसालले बताउनुभयो ।

बिहान रेसुङ्गा दर्शन र घुमघाम गरेर श्रदालु भक्तजनलाई तम्घास बजार फर्कन यात्रु र सवारीलाई आवतजावतमा सहज भएको रेसुंगा नगरपालिका  वडा नम्बर २ का अटोचालक सन्तोष पन्थीले बताउनुभयो ।

२०७४ सालदेखि सडक कालोपत्रेको काम आशिष रामेछाप कन्टक्सन प्रालिले गरिरहेको छ । तम्घासदेखि रेसुङ्गा पोखरीसम्म सडक कालोपत्रेका लागि १८ करोड रकम विनियोजन भएको सडक पूर्वाधार कार्यालय गुल्मीले जनाएको छ । सडक बिस्तार भएको डेढ दशकपछि मात्रै सडक कालोपत्रे भएकाले रेसुङ्गा नगरपालिका केही वडामा समेत यात्रामा सहजता मिलेको छ ।

सडक कालोपत्रे भएपछि तम्घास बजारबाट २० मिनेट सवारी यात्राबाट रेसुङ्गा पुग्न सकिन्छ । तम्घासदेखि रेसुङ्गा क्षेत्रसम्म ६ किलोमिटर सडकमध्ये अहिले ९० प्रतिशत सडक कालोपत्रे भएको छ । कालोपत्रे गर्न बाँकी रहेको सडक दशैंसम्म सक्ने तयारी भएको सडक पूर्वाधार कार्यालयले जनाएको छ ।