• ९ जेठ २०८१, बुधबार

मोहम्मद जयन्ती मनाइयो

blog

मोहम्मद जयन्तीमा आयोजना गरिएको कार्यक्रम । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा, असोज ११ गते । कपिलवस्तुमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९८ औँ जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ धूमधामका साथ मनाइएको छ । 

उक्त पर्वका अवसरमा मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ ।  

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संम्वतको रवि अव्वल महिनामा साउदीअरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद जयन्तीलाई इद मिलादुनन बी र १२ रबी अव्वल पनि भन्ने गरिन्छ । 

नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद डे भनेर पनि मनाउने गरेका मुस्लिम अगुवा मोहम्मद जाहिद खाँले बताउनुभयो । मोहम्मद दिवसको दिन इस्लाम धर्मावलम्बीले खुसी व्यक्त गर्दै मोहम्मदका विभिन्न नारा घन्काएका छन् ।  मोहम्मद दिवसले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारा सम्बन्ध कायम रहने जनविश्वास छ ।

मोहम्मद डेका अवसरमा मुस्लिम समुदायहरू गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफाइ गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दीप–प्रज्वलन गर्नेलगायत क्रियाकलाप गरेको मुस्लिम गुरु नजिर अहमद मुसालमानले बताउनुभयो ।