• १२ मंसिर २०८१, बुधबार

महिला विश्वविद्यालयको अनिवार्यता

blog

जनगणना– २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९६ लाख २० हजार ३३७ मध्ये एक करोड ४९ लाख २८ हजार ५५२ अर्थात् ५०.४ प्रतिशत जनसङ्ख्या महिलाको छ । यसलाई आधार मान्दा पुरुषको तुलनामा महिलाको सङ्ख्या करिब दुई लाख ३६ हजार ७६७ बढी देखिन्छ । यति ठुलो जनसङ्ख्याले अहिले पनि निर्णायक तहमा नगन्य उपस्थिति मात्र देखाउँछ । अधिकार प्राप्तिका हरेक लडाइँमा महिलाको सहभागिता नभएको होइन । विद्यालय, विश्वविद्यालय, निजामती प्रशासन सेवा, हवाई उडान, समाजसेवा तथा राजनीतिलगायतका हरेक क्षेत्रमा आज महिलाको उपस्थिति उल्लेखनीय छ । यति हुँदाहुँदै पनि महिलाको सैद्धान्तिक तथा प्राविधिक योग्यता, सिप विकास तथा नेतृत्व क्षमता अभिवृद्धिमा कहीँ न कहीँ कमी छ । ज्ञान र सिपबिनाको जनशक्तिले सङ्ख्या मात्र बढाउँछ, अर्थपूर्ण गुणात्मक परिणाम दिँदैन । यसका लागि सैद्धान्तिक र प्राविधिक सिप विकासमा जोड दिन महिला बहुमुखी विश्वविद्यालय अब जरुरी छ । विश्वमै युवा उद्यमी महिलाले विभिन्न स्टार्टअपमार्फत व्यावसायिक दुनियाँमा ठुलो फड्को मारिसकेका छन् । प्रविधि होस् वा वित्तीय क्षेत्र या राजनीतिक नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति निरन्तर बढिरहेको छ । अहिलेका नारी तत् समयकी नारी झैँ कुशल गृहिणीमा मात्र सीमित नरही विश्वव्यापी व्यावसायिक दुनियाँमा आफ्नो छाप छोड्न पनि तयार भएका छन् । नैतिक चेतना, सामाजिक सुरक्षा तथा आत्मनिर्भर जीवन पद्धतिका लागि अब कुनै पनि नारीले कसैको भर पर्नु नपरोस् भन्नेतर्फ राज्यले ध्यान दिनु पर्छ । अहिले 

स्वास्थ्य क्षेत्रबाट जसरी हजारौँ महिला नर्स र डाक्टर (चिकित्सक) का रूपमा उत्पादन भई सो कार्यमा निरन्तर लागिरहेका छन् । यति हुँदा पनि हामीमा परम्परावादी सोच र सङ्कीर्ण विचार हट्न सकेको छैन ।

केटा र केटी संयुक्त भएर खुला रूपमा हिँडडुल गर्दा वा एउटै कलेजमा अध्ययन गर्दासमेत अनेक थरी सामाजिक लाञ्छना सहनुपर्ने अवस्था विद्यमान छ । जतिसुकै आधुनिकताको गफ हाँके पनि नेपाली छोरीचेली र बुहारीलाई महिला–पुरुषसँगै पढ्ने विश्वविद्यालगमा पढाउन नचाहनको सङ्ख्या नेपालमा ठुलो छ । यसो हुँदा पूर्ण शिक्षाबिना नै विवाह गरिदिने र बालबच्चा जन्माउन प्रेरित गरी पढाइमा अवरोध सिर्जना गर्ने गरिएको पाइन्छ । यसले गर्दा धेरै कर्मठ र प्रतिभाशाली महिला गृहिणीको भूमिका तथा सामान्य व्यवसायीको भूमिकामा मात्र सीमित रहन बाध्य छन् । यस्तो अवस्थालाई चिर्न र महिलालाई उच्च शिक्षाप्रति आकर्षित गर्न ज्ञान तथा सिप अभिवृद्धिका प्राविधिक महिला शिक्षालय स्थापना गर्नु आवश्यक छ ।

समय परिवर्तन भएको छ । शिक्षा चेतना र जागरणमा परिवर्तन आएको छ । सामाजिक परिवर्तनसँगै शैक्षिक जागरणको अग्र मोर्चामा आइरहेका आमासँग हिजोकै चेतनाको धङधङी अझै रहिरह्यो भने छोरी पुस्ता समयसापेक्ष अगाडि बढ्न सक्दैनन् । पुरानो सोचमा पूर्ण सुधार र परिवर्तन आवश्यक छ । छोरीलाई कसैकी पत्नी, कसैकी बुहारी, कसैकी दासी र अर्काको घर गरिखान सक्ने बनाउन मात्र जोड दिनुभन्दा एक असल र योग्य नारी बनाउन ध्यान दिनु अहिलेको आवश्यकता हो । माया, वात्सल्य, प्रेम आमाजातिको स्वभाव हो तर यसो भनिरहँदा माया र प्रेमका नाममा महिलाले मात्रै सधैँ भरि मैन झैँ पग्लिरहनु पर्छ भन्ने हुँदैन । पारिवारिक कर्तव्य, सामाजिक उत्तरदायित्व र जिम्मेवारीका सवालमा महिला–पुरुष समान हकदार हुन् । महिलाले मात्र अब यो वा त्यो बहानामा हेपिनुपर्ने र दलिनुपर्ने अवस्था छैन । कसैकी छोरी विवाह गरेर ल्याइसकेपछि ऊ कसैकी दासी हुन्छे भन्ने मानसिकताबाट व्यक्ति र समाज दुवै मुक्त हुनु पर्छ । विवाहपछि बुहारीले पढ्नै हुन्न भन्ने आमधारणामा परिवर्तन गर्नै पर्छ ।

सन् १९८० र ९० को दशकमा बङ्गलादेशमा महिलामाथि हुने तेजाब आक्रमणका घटना अत्यधिक थिए । त्यहाँबाट यो अपराध फैलिएर पाकिस्तान, भारत हुँदै हाल नेपालसम्म यसले प्रभाव पारेको छ । यो समस्या गम्भीर सामाजिक अपराधका रूपमा विकास भइरहेको छ । चाहे लोग्नेस्वास्नीको सामान्य मनमुटाव होस् वा युवायुवतीको प्रेम वैमनस्यको कारण होस्; आपूmलाई पुरुषार्थ प्रमाणित गर्न तेजाब प्रहार गरिएका आपराधिक घटना बारम्बार आइरहन्छन् । त्यस्तो आक्रमणबाट पीडितले जीवनभरि सामाजिक एक्लोपन महसुस गर्नुपर्ने र कतै पनि काम नपाउने स्थितिबाट सधैँ मानसिक तनाव खेप्नुपर्ने अवस्था छ । पछिल्लो समय महिला हिंसाको स्वरूप फेरिँदै गर्दा तेजाब प्रहारका घटना फेरि उठ्न थालेका छन् । यो मुख्यतया महिलाकेन्द्रित छ । दक्षिण एसिया, अमेरिका र युरोमा समेत तेजाब आक्रमणका घटना भइरहेका छन् । 

चाहे फ्लोरेन्स नाइटिङ्गेलको स्वास्थ्य सेवा र मानव सेवासम्बन्धी आन्दोलन होस् या ल्कारा जेटकिन, लक्जेम्बर्ग, लुइकोलर र लियोनारा ओरेलीका महिला मुक्ति र अधिकार प्राप्तिका आन्दोलन हुन् वा योगमायाको नेतृत्वमा गरिएको महिला अत्याचारविरुद्धको सामूहिक आत्मदाहको आन्दोलन होस्, यी सबै आन्दोलन महिला मुक्ति र सशक्तीकरणको जागरणका आन्दोलनहरू थिए । आज विश्वको स्वरूप फेरिएको छ । आन्दोलनको स्वरूप पनि फेरिएको छ । अब मुक्तिको आन्दोलन नभएर प्राप्त अधिकारको रक्षा, प्रयोग र समान हकाधिकार र न्यायका लागि आन्दोलन आवश्यक छ । यसका लागि पनि महिला शिक्षित, चेतनशील र जागरुक हुनै पर्दछ । उच्च शिक्षालाई मूल लक्ष्य किटान गरेर महिला अघि बढ्नै पर्छ ।

सरकारले योगमाया आयुर्वेदिक विश्वविद्यालय खोल्ने अनुमति दिइसकेको र यसका लागि बजेटसमेत छुट्याएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या क्याम्पसलाई महिला बहुमुखी विश्वविद्यालयका रूपमा स्तरोन्नति गरेर हाल भइरहेका जति पनि महिला अध्ययन गर्ने कलेज छन्, ती सबैलाई यही विश्वविद्यालयको आङ्गिक एकाइका रूपमा विकास गरेर लान सकिन्छ । यी शैक्षिक संस्थामा समाज तथा राष्ट्रको आवश्यकता अनुसार अध्ययन र अध्यापनका फरक फरक विषयहरू समावेश गरी प्रारम्भिक तहदेखि नै महिलालाई व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धिका लागि सिपमूलक शिक्षामा जोड दिनु पर्छ । 

हाल कार्यान्वयनमा रहेको शिक्षा नीति, २०७६ ले शिक्षासम्बन्धी हकलाई सम्बोधन गरेको छ । यसले शिक्षामा सुधार गरेर देशको विकासका लागि दक्ष जनशक्ति निर्माणमा जोड दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि दसवर्षे शिक्षा योजना तयार गरी विद्यालय तहदेखि नै व्यावहारिक तथा प्राविधिक विषयलाई लक्षित गर्दै शैक्षिक गुणस्तर सुधारमा जोड दिएको छ । शैक्षिक सुधारमा प्रदेश र स्थानीय तहले छुट्टै नीति र कानुन बनाउन पाउने संवैधानिक आधार भएकाले यसलाई उपयोग गरेर स्वदेशी माटोमै उत्पादकत्वको अभियान चलाउन सक्ने स्वाभिमानी नागरिक तयार गर्न हाम्रा प्रयास थाल्नु जरुरी छ । यही आर्थिक वर्षमा उच्च शिक्षा अध्ययनका लागि एक लाख २० हजारभन्दा बढी विदेश जाने अनुमति लिएका विद्यार्थीबाट ६७ अर्बभन्दा बढी रकम वैदेशिक शिक्षामा जाने विद्यार्थीबाट बाहिरिएको औपचारिक तथ्याङ्कले देखाउँछ । यो तथ्याङ्कले नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकको खिल्ली उडाएको छ ।

शिक्षाको यस्तो विकराल अवस्थामा प्रदेश तथा स्थानीय तहले नयाँ विश्वविद्यालय स्थापना गर्नमा आ–आफ्ना योजनाहरू सार्वजनिक गरिरहँदा महिला विश्वविद्यालयको अवधारणालाई प्राथमिकता दिनु आवश्यक देखिन्छ । शिक्षामा गरेको लगानीले नागरिक नै लाभान्वित भई देशको समग्र विकासमा योगदान पुग्ने विश्वास राज्यले गर्नु पर्दछ । देशमा केही गर्ने वातावरण छैन भन्ने आमनिराशा र युवायुवती विदेश पलायनको यो डरलाग्दो अवस्थाबाट देशलाई मुक्त गर्नु पर्छ । उत्पादन र रोजगारमुखी महिलाकेन्द्रित शैक्षिक पूर्वाधारको बृहत्तर मार्गचित्रलाई अब अगाडि ल्याउनु पर्दछ । आविष्कारमुखी चिन्तन र नैतिकतामुखी जीवन पद्धतिलाई संवर्धन गर्नु पर्दछ । सिर्जनशील र अर्थोपार्जनमुखी संस्कारलाई महिला–पुरुष समान हुने सामाजिक संस्कारमा ढाल्न राज्यले उत्प्रेरकको भूमिका निर्वाह गर्नु पर्दछ । हरेक घरपरिवारलाई श्रम र सदाचारमुखी जीवनशैली अवलम्बन गर्ने संस्कृति स्थापित गर्नु पर्दछ । यसका लागि राज्यद्वारा नै शैक्षिक अभियानमार्फत उत्प्रेरणादायी कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

आजको विश्वमा ज्ञानपुँजी निकै ठुलो सम्पदा हो । यो प्रत्येक घरघरबाट उमार्न सक्नु पर्छ । घर शिक्षित पार्न प्रत्येक घरका महिला शिक्षित हुनु आवश्यक हुन्छ । परिवारमा एउटी महिला शिक्षित हुनु भनेको पूरै परिवार शिक्षित हुनु हो । महिलाकेन्द्रित शैक्षिक संस्था निर्माणका लागि विश्वव्यापी चिन्तनमा आधारित शिक्षा दिन सक्ने शैक्षिक केन्द्र र शैक्षिक जनशक्ति आवश्यक पर्छ । त्यो हामीले नै उत्पादन गर्न सक्नु पर्छ । यसका लागि नेपालीपनमा आधारित ज्ञानको अन्तर्राष्ट्रियकरण गर्ने सोच चाहिन्छ । हरेक महिला शिक्षित र जागरुक भई यहाँको स्थानीय उत्पादन, प्रकृति, संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रिय ज्ञान आविष्कारसँग जोड्ने ज्ञानपुँजीलाई हाम्रो शक्तिका रूपमा विकास गर्न सक्ने हुनु पर्छ । हाम्रा मौलिक ज्ञानका आधारमा महिलालाई शिक्षित बनाई नेपाललाई विश्वभरका महिलाको ज्ञानको केन्द्र बनाउनु पर्छ । हरेक शिक्षित महिलाले आफ्नो भाषा, कला, भूगोल र इतिहासको प्रचुर अध्ययनबाट मात्र राष्ट्रको उन्नति सम्भव छ भन्ने तथ्यलाई प्रस्ट बुझ्नु पर्छ । सबैलाई बुझाउन सक्ने हुनु पर्छ । यी सबै प्राप्त गर्न हामीलाई केही प्रारम्भिक एकाइहरू र तिनलाई दिशानिर्देश गर्ने एउटा अन्तर्राष्ट्रिय स्तरको महिला विश्वविद्यालय चाहिन्छ । त्यतातिर नीति–निर्माताहरूको ध्यान जाओस् ।

  

Author

प्रेमप्रसाद ढकाल