बैतडी समाचारदाता
बैतडी, असोज ११ गते । सुदूरपश्चिमका १६ वटा भगवतीका बहिनीमध्ये बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशीको मेला सुरु भएको छ । मेलाको मुख्य आकर्षण स्वराडबाट घोडामा चढेर जाँत (झाँकी) आउने बेलामा कुहिरो लाग्ने गर्दछ । मेलामा भारतबाट समेत दर्शनार्थी आउने गर्छन् । दशरथचन्द नगरपालिका–२, देहिमाण्डौँस्थित निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरबाट भण्डार ल्याएर मेलामा जाग्राम बस्ने क्रम बुधबारबाट सुरु भएको हो ।
परापूर्वकालमा निङ्लासैनी भगवतीले न्याय दिएको हुनाले बैतडी र स्वराड क्षेत्रबाट जात्रा ल्याउने चलन रहेको मन्दिरका पुजारी देवदत्त भट्टले बताउनुभयो । धार्मिक शक्तिका कारण अहिले पनि स्वराड र बैतडी क्षेत्रको जात्रा मन्दिरमा पुग्ने बेला कुहिरो लाग्ने गरेको भनाइ उहाँको छ ।
भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । निङ्लासैनी मन्दिरमा वर्ष दिनमा ८४ दिन विशेष पूजा लाग्ने गरेको छ । वर्षको सुरुमा अनन्त चतुर्दशी, असोजको महाष्टमी, मङ्सिर शुक्ल पूर्णिमा, धान्य पूर्णिमा र चैत्राष्टमीका दिन विशेष पूजा लाग्ने गर्दछ । निङ्लासैनी भगवती मन्दिरमा बैतडीलगायत दार्चुला, डडेलधुरा, बझाङ र भारतको पिथौरागढबाट दर्शनार्थी आउने गरेका छन् । यहाँ महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भए पनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा बलि नहुने पुजारी देवदत्त भट्टले बताउनुभयो ।
निङ्लासैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलालाई भव्य रूपमा सम्पन्न गर्न देहिमाण्डौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताउनुभयो ।
हिङ्लो अर्को आकर्षण
निङ्लासैनी मन्दिरको प्राङ्गणमा रहेको हिङ्लो ( परम्परागत पिङ) मेलाको अर्को आकर्षण हो । १४ औँ शताब्दीअघि मन्दिर परिसरमा हिङ्लो राख्ने परम्परा सुरु भएको मानिन्छ । १४ औँ शताब्दीदेखि मन्दिर परिसरमा हिङ्लो राख्ने परम्पारा सुरु भएको मानिन्छ ।
बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती, त्रिपुरासुन्दरी, मेलौली, डिलासैनी, कफलासैनी मन्दिरमा हिङ्लो रहेका छन् । दसैँका बेला मन्दिरमा लाग्ने मेला पर्वमा हिङ्लोमा पिङ खेल्ने चलन रहेको छ । बैतडीमै रहेका फलाम खानीबाट स्थानीय लोहार ( विश्वकर्मा) जातिका कालिगडले फलाम उत्खनन गरेर १५ देखि २० फिटसम्म लामो फलामको सिक्री बनाएर हिङ्लो निर्माण गरेको जनबोली रहेको छ ।