• १३ मंसिर २०८१, बिहिबार

डाक्टरहरू सडकमा, बिरामीका आफन्तको चक्काजाम

blog

विरोधमा चिकित्सकहरुको समूह सडकमा गरेको प्रदर्शन । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, असोज १० गते । पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबारको घटनापछि पोखराको जनजीवन प्रभावित हुँदैगएको छ । मङ्गलबारबाट कास्कीसहित गण्डकी प्रदेशका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द छन् ।

मङ्गलवारबाट सेवा बन्द गरेका चिकित्सकहरू बुधबारबाट सडकमा उत्रिएका छन् । बिरामीका आफन्तले चक्काजाम गरेका छन् । लमजुङको सुन्दरबजार ७ की ५७ वर्षीया सुकमाया दुराको मणिपालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो ।

मृतकका आफन्तले चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै तोडफोड गरेका थिए भने उपचारमा संलग्न डाक्टर अनिल शाह कुटिनुभएको थियो । स्वास्थ्यकर्मीले बुधबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि नाराबाजी गरेका छन् । 

पोखरा महानगरपालिकाको कार्यालयबाट रैलीसहित सभागृह, सिर्जनाचोक, राष्ट्रबैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर कोणसभा गरेका हुन् । 

‘डाक्टर कुट्ने प्रहरीमाथि कारबाही गर’, ‘अत्याचार र दमन कहिलेसम्म’, ‘दोषीलाई छुटैछुट डाक्टरमाथि कुटाकुट’ लगायत लेखेका प्लेटकार्ड प्रदर्शनकारीले बोकेका थिए । स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयनको मागसमेत गरेका छन् । 

डाक्टर शाहमाथि कुटपिटमा सङ्लन भएको अभियोगमा पोखरा ५ बस्ने विनय गुरुङलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । उनलाई मंगलबार जिल्ला अदालत कास्कीबाट मंगलबार ७ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

बिरामीको मृत्यु भएपछि नाराबाजीमा सङ्लन डा. दिनेशकुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उहाँलाई मंगलबार छाडिएको छ । मणिपालको घटनामा चार प्रहरीसमेत घाइते भएको प्रवक्ता विकले जानकारी दिनुभयो । 

घटनामा खटिनुभएका दुई प्रहरी अधिकृतमाथि कारबाही भएको छ । प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरिएको छ । श्रेष्ठले डाक्टरलाई कुटेर आएँ भनेको भिडियो सार्वजनिक भएको थियो । मणिपालमै खटिनुभएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशीको सरुवा भएको छ । 

आफन्तद्वारा चक्काजाम

मृतकका आफन्तले पनि प्रदर्शनसहित चक्काजाम गरेका छन् । महेन्द्रपुलबाट प्रदर्शनसहित भीड चक्काजाम गराउँदै पृथ्वीचोकमा पुगेको छ । उनीहरूले पोखराको मुख्यचोक पृथ्वीचोकमा प्रदर्शन गर्दा सवारी आवागमनमा समेत प्रभाव परेको थियो । मृतकका आफन्तले भने डाक्टरमाथि छानबिनको माग गरेका छन् । 


यता, मणिपाल अस्पतालका निर्देशक कृष्णमोहन श्रेष्ठले आफूहरू वार्ताकै माध्यमबाट तनाव साम्य गर्न लागिपरेको बताउनुभयो । कास्कीका तीन सरकारीसहित दुई दर्जनभन्दा बढी अस्पतालको सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् । 

नेपाल चिकित्सक सङ्घ गण्डकीका कार्यवाहक अध्यक्ष डा. सुनील पनेरुले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म चिकित्सकहरू काममा नफिर्कने बताउनुभयो ।