प्रजित शाक्य
काठमाडौं, असोज १० गते । ग्रान्डमास्टर दिवाकार महर्जनले यस हप्ता आठौँ डान हासिल गर्नुभएको छ । विश्व तेक्वान्दोको केन्द्रीय कार्यालय कुकिवनबाट महर्जनले आठौँ डनको परीक्षा उत्तीर्ण गर्नुभएको हो ।
ग्रान्डमास्टर महर्जन नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन मात्र तेस्रो व्यक्ति हुनुहुन्छ । यसअघि दिपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान पाउनुभएको थियो । यद्यपि महर्जनले गुरुङद्वयभन्दा कम उमेरमै आठौँ डान प्राप्त गर्नुभएको हो ।
ग्रान्डमास्टर महर्जन दोहोरो आठौँ डान पदवी हासिल गर्ने व्यक्ति पनि बन्नुभएको छ । उहाँले गत मार्चमा कोरियाली मार्सलआर्ट्स एसोसिएसन हाप्किदो हेडक्वाटरबाट पनि आठौँ डान प्राप्त गर्नुभएको थियो । यस अर्थमा उहाँले एकै वर्ष मार्सल आर्ट्सका दुई खेलमा आठौँ डान पदवी हासिल गर्नुभएको छ ।
महर्जनले दश वर्षअघि नै सातौँ डान उपाधि हासिल गरिसक्नुभएको थियो । सातौँ डान लिएको आठ वर्षपछि आठौँ डानको परीक्षा दिन योग्य हुने प्रावधान छ । तर कोभिडका कारण महर्जनलाई सो परीक्षा दिन थप दुई वर्ष लाग्यो । उहाँले गतवर्ष दक्षिण कोरियाका सोलमा रहको कुकिवनको केन्द्रीय कार्यालयमा गएर शारीरिक र लिखित परीक्षा दिनुभएको हो ।
तेक्वान्दोमा आठौँ डानको पदवी पाएपछि ग्रान्डमास्टर महर्जनले भन्नुभयो – ‘म निकै खुसी छु । तेक्वान्दोमा चार दशकदेखिको लगातार मिहिनेतको फल पाएका छु । दक्षिण कोरियामा परीक्षाका लागि जाँदा आत्तिएको थिएँ । मानसिक, शारीरिक र आर्थिक रूपमा तयार हुनुपर्ने थियो । तर मिहिनेत गरेँ र अहिले सफल भएको छु ।’
ग्रान्डमास्टर महर्जन र आइओएफटिसी
ग्रान्डमास्टर दिवाकर महर्जन नेपाली तेक्वान्दो क्षेत्रमा परिचित नाम हुनुहुन्छ । हुनत उहाँ साढे दुई दशकभन्दा बढी समयदेखि अमेरिकालाई आफ्नो कर्मथलो बनाउनुभएको छ । तर पनि नेपाली तेक्वान्दो वृत्तमा गान्डमास्टर महर्जन सबैले चिन्ने नाम हो ।
अहिले उहाँलाई सबभन्दा बढी चिनाउने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) बनेको छ । जसको उहाँ परिकल्पनाकार हुनुहुन्छ । आइओएफटिसी प्रत्येक दुई वर्षमा आयोजना हुन्छ । तेक्वान्दो प्रतियोगिताबाट प्रतिस्पर्धाका साथै विभिन्न देशबीचको सांस्वृतिक आदानप्रदान गर्ने थलो बनाउने महर्जनको सोच अहिले वृहत् बनिसकेको छ ।
यस प्रतियोगिताको विशेषता भनेको फरक–फरक देशमा यसको आयोजना नै हो । तर अमेरिकाको पोर्टल्यान्डमा प्रत्येक दोस्राे संस्करणमा यो प्रतियोगिता फर्किन्छ । कारण यसको मुख्यालय पोर्टल्यान्डमा छ ।
सन् २००० मा पहिलो पटक भएको प्रतियोगिता भएको थियो । अहिले १३ औँ संस्करणसम्म आइपुग्दा यसको आकार वृहत् भइसकेको छ । प्रत्येक संस्करणमा संसारभरबाट पाँच–छ सयसम्म खेलाडीको सहभागिता रहने गर्दछ । यति धेरै खेलाडी, तिनीहरूसँग आउने प्रशिक्षक, अफिसियलको व्यवस्थापन चानचुने कुरा मानिँदैन ।
विश्वभरका खेलाडीले भाग लिँदा आर्थिक दृष्टिकोणले पनि बोझिलो हुन्छ । तर महर्जनको अगुवाइमा रहेको आइओफटिसी यसमा अहिलेसम्म सफल मात्र छैन, यसको दायरा अझ फराकिलो पार्दै जाने योजनामा छ ।
नेपालमा पहिलो (काठमाडौँ) र दोस्राे संस्करण (पोखरामा) भएको थियो । त्यसको आठ वर्षपछि मात्र यो नेपाल फर्कियो । यसबीच तेस्राे संस्करण पोर्टयान्डमा भयो । त्यसपछि चौथो संस्करण हङकङ, पाँचौँ संस्करण पोर्टल्यान्ड, छैटौँ संस्करण भारतको कुरुक्षेत्र, सातौँ संस्करण पोर्टल्यान्ड, आठौँ संस्करण काठमाडौँ, नवौँ संस्करण पोर्टल्यान्ड, दशौँ संस्करण लन्डन र एघारौँ संस्करण पोर्टल्यान्डमा आयोजना भए । १२ औँ संस्करण नेपालको इटहरीमा भएको थियो । १३ औँ संस्करण मिचिगनमा भयो ।
महर्जनको तेक्वान्दो यात्रा
महर्जन भन्नुहुन्छ– ‘म तेक्वान्दोका लागि नै जन्मेकोजस्तो लाग्छ । मलाई सानैदेखि मार्सलआर्टस् खुबै मनपथ्र्योँ । त्यसबेला नेपालमा यो खेलको खासै प्रभाव थिएन । अझ सो समय खुलमखुल्ला मार्शलआर्ट्स खेल्न पाइँदैनथ्यो । लुकिछिपी खेल्नुपर्थ्यो । आत्मरक्षा र अरूलाई सहयोग गर्न सकिन्छ भन्ने भावनाले मलाई यो खेल पहिले नै मनपथ्र्यो । अझ म दश वर्षकै हुँदा बुबा बित्नुभयो । सो उमेरमै केही गर्नुपर्छ भन्ने सोचले पनि त्यसमा लाग्न प्रेरित ग¥यो ।
वास्तवमा उहाँलाई यस खेलमा क्रेजी गर्ने ब्रस–लि हो भन्दा फरक पर्दैन । साठीको दशकमा ब्रुस–लिले विश्वसामु परिचित गराएपछि यो खेल यति लोकप्रिय भयोकि विश्वका कुनाकाप्चामा मार्शलआर्ट्स खेलिन थाले । उनको प्रभावले लाखौँ, कराेडाै मार्सलआर्ट्सका अनुयायी बने । महर्जन पनि ब्रस–लिका करोडौँ भक्तमध्ये एक बने । उहाँ भन्नुहुन्छ, “काठमाडौँ वा ललितपुरका गल्लीमा ब्रुस–लिको फिल्म हेर्न जान्थेँ । मलाई ब्रस–लिको किक हान्ने शैली असाध्यै राम्रो लाग्थ्यो । घरमा डेकमा रिल क्यासेट राखेर पनि ब्रुस–लीको धेरैपटक फिलिम हेरेँ । अझ ब्रुस–लिको फिल्म जहाँ देखाइन्थ्यो, त्यहीँ जान्थे ।
यसरी नै मार्शलआर्ट्ससँग म नजिकिएँ । त्यसपछि रहर भयो, मार्शलआर्ट्स खेल्ने । यद्यपि यस खेललाई रहर मात्र होइन आफ्नो कर्म नै बनाउने अठोट गरिसकेको थिएँ । कच्चा उमेरमै म यस खेलपति फोकस थिएँ ।’
मार्सल आर्ट्स सिक्ने भएपछि सिकाउने ठाउँको खोजीमा उहाँ भौँतारिनुभयो । सो समय मार्शलआर्ट्स खुलमखुल्ला सिकाइँदैनथ्यो । उहाँले आर्मीमा मार्शलआर्टस् सिकाइन्छ भन्ने पत्ता लगाउनुभयो ।’ आर्मीका एक प्रशिक्षक कृष्ण गुरुले प्रशिक्षण दिनुहुन्छ भन्ने पनि पत्ता लगाएँ । त्यसपछि उहाँबाटै प्रशिक्षण लिएँ । यद्यपि सिक्ने ठाउँ राम्रो थिएन । दुई वर्ष मार्शलआर्टस् सिक्यौँ ।
खेलबारे जानकार भइसकेपछि मात्र अब रङ्गशालामा गएर सिक्नुपर्छ भन्ने आत्मविश्वास आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सन् १९८३ मा मैले रातो बेल्टबाट प्रशिक्षण गरेँ । रङ्गशालामा खेल्नु ठुलो कुरा थियो । दिनेश राई र सितकर राजभण्डारीबाट तेक्वान्दो सिक्ने अवसर पाएँ । सन् १९८६ मा मैले ब्ल्याकवेल्ट पाएँ । एक त लुकीछिपी खेल्नुपर्ने र अर्को लडाइँको यो खेल खेल्न दिन मुमा मान्नुहुन्छ जस्तो लागेन ।”
‘मेरो स्तर बढ्दै थियो । त्यसबेला सम्बन्धित निकायका पदाधिकारीहरूले आफ्नो मान्छेलाई मात्र प्रतियोगिताबारे जानकारी दिन्थे । आफूलाई मनपरेका खेलाडीलाई मात्र खेलाउँथे । मैले प्रशिक्षण गर्दा कहिले पनि प्रतियोगितासम्बन्धी सूचना नै टाँसिएन । गुरुहरूलाई प्रतियोगिताबारे सोध्दा तिमी छनोटमै परेन भन्थे’ उहाँले भन्नुभयो ।
अमेरिका जानुअघि महर्जन निर्णायक र खेलकुद परिषद्को स्थायी प्रशिक्षकको जागिरे हुनुहुन्थ्यो । उहाँ खेलकुद परिषद्का स्थायी जागिरमा खुसी पनि हुनुहुन्थ्यो । तर उहाँको खुसी क्षणिक मात्र बन्यो । उहाँका अनुसार राखेपमा महर्जनलाई दुर्गम स्थानमा काजमा पठाउने चलखेल सुरु भएको रहेछ ।
‘एक पटक मैले आफैले सुनेँ– यो पाटनको ज्यापु थानकोट नै कटेकै छैन, यसलाई महाकाली पुगाउनु पर्छ’ शायद मैले खुसामद गरेको भए महाकाली जानु पर्दैनथ्यो होला । २०४६ मा जनआन्दोलनको समयमा काठमाडौँ आएँ । तर म राखेपको फोहरी राजनीतिमा रम्न सकिन । एक वर्षपछि राजीनामा दिएँ ।
सन् १९९४ मा महर्जनलाई अमेरिका तेक्वान्दोकै माध्यमबाट अमेरिका जाने अवसर मिल्यो । उहाँले अर्को वर्ष नै प्रवासमा युएसडब्ल्यूसी तेक्वान्दो एसोसिएसन– हलिउड खोल्नुभयो । जुन अहिलेसम्म पनि निरन्तर छ । अहिले पोर्टल्यान्डस्थिति मैत्री तेक्वान्दो २३ वर्ष भइसकेको छ । यस क्षेत्रमा यो तेक्वान्दो स्कुल प्रख्यात छ ।
सुरुमा मलाई सजिलो थिएन । सन् २००० मा काठमाडौँमा अन्तर्राष्ट्रिय प्रतियोगितामा गर्दा सम्पूर्ण कमाई नै खर्च गर्नुपरेको थियो, उहाँले भन्नुभयो, “तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृहमा प्रतियोगिता भएको थियो । हल भाडा मात्र एक लाख रुपियाँ थियो । तर मेरो एउटै सोचाई थियो, घरमै अन्तर्राष्ट्रिय प्रतियोगिता भएमा बढीभन्दा बढी नेपाली खेलाडीले राम्रो एक्सपोजर पाउनेछ । विदेशबाट प्रतिस्पर्धा गर्न आउने खेलाडीसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीकोस्तर बढ्नेछ । त्यसबेला नेपालमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता न्यून थियो ।”
“त्यसबेला तेक्वान्दो सङ्घले निजी क्षेत्रका डोजाङलाई मान्यता दिदैन्थ्यो । सुरुवाती दिनमा केही समस्या पनि आयो । दुई महिनाभित्र डोजाङमा २५० खेलाडी भर्ना भए । २०५० सालमा मैत्री डोजाङलाई सङ्घले मान्यता दियो । अहिले मैत्री डोजाङमा १५० खेलाडीले प्रशिक्षण लिने गर्छन्” उहाँले भन्नुभयो, “यस डोजाङमा सिकेका खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा पदक प्राप्त गरेका छन् । ओलम्पिकसम्म खेलेका छन् ।”