• १२ असार २०८१, बुधबार

कलाकार सिंहको उपचारमा सहयोग गर्न आग्रह

blog

उपचार गराइरहनु भएका वरिष्ठ कलाकार सिंह । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ९ गते । नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह क्यान्सरबाट पीडित भई उपचारार्थ अस्पताल भर्ना हुनु भएको छ । उहाँको उपचारमा सहयोग गर्न सबैसँग परिवारका सदस्यले आग्रह गर्नुभएको छ । 

६९ वर्षीय वरिष्ठ कलाकार सिंहको एक महिनाअघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहिले उहाँ बिपी कोइराला मेमाेरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ । 

हस्तकला, चित्रकला, गीत–सङ्गीत, साहित्य र नाट्य लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएका कलाकार सिंह यतिबेला मृत्युसँग सङ्घर्ष गरिरहनु भएको र उहाँको उपचारमा आर्थिक समस्या आएकाले परिवारले सहयोगका लागि आग्रह गरेको छ । 

सिंहका कान्छा छोरा सागर सिंहले यही हप्ताभित्र पिताको शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल परेकाले सहयोगको अपिल गरिएको बताउनुभयो । 

जीवनभर कला र सिर्जनामै तल्लीन कलाकार सिंहलाई यतिबेला उपचारमा आर्थिक अभाव छ । सिंहको घरमा मानसम्मान, प्रमाणपत्र सयौँ छन्, तर यतिबेला उहाँलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गरेर बाबाको जीवन बचाइ दिन छोरा सागरले आग्रह गर्नुभयो ।   

कलाकार सिंहले नेपालगन्ज –९ बाँकेगाउँस्थित आफ्नो घरको दोस्रो तलाका चार कोठालाई वर्षौँदेखि सङ्ग्रहालय बनाउनुभएको छ । कलाका पारखी, शुभेच्छुक एवं आमनागरिकका लागि उहाँले निःशुल्क अवलोकनको अवसर दिँदै आउनुभएको छ । सङ्ग्रहालयमा सिंहद्वारा सिर्जित हस्तकला, चित्रकलाका सयौँ सिर्जनाहरू छन् । 

क्यान्सरले थलिएका सिंहको अन्तिम इच्छा घरको सङ्ग्रहालयलाई राज्यले संरक्षण गरेर कहीँ स्थापित गरिदियोस् भन्ने रहेको छोरा सागरले बताउनुभयो ।  करिब सयवटा सडक नाटक लेखन र अभिनय गरिसक्नु भएका सिंहले टेलिसिरियल ‘अभागन बने सुहागन’ को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नुभएको थियो । 

उहाँको उपचारमा सहयोगका लागि श्यामानन्द सिंह, ग्लोबल आइएमइ बैक खाता न ०२१०८०१००००२९४ र ई-सेवा आइडी ९८४८०१८८२७, खल्ती आइडी ९८५१०३९४२७ मा रकम पठाउन सकिने छोरा सागरले बताउनुभयो ।