• ६ कात्तिक २०८१, मङ्गलबार

तम्घासमा चौथो पुलचोक कप हुँदै

blog

रमेश विश्वकर्मा

गुल्मी, असोज ८ गते । गुल्मीमा चौथो पुलचोक कप सञ्चालन हुनेभएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि  खेलकुद भन्ने नारासहित पुलचोक स्पोर्टस क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्रा फुटबल प्रतियोगिता हुने भएको हो । 

सोमबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । महासचिव प्रकाश मरासिनीका अनुसार असोज १० गतेदेखि १३ गतेसम्म तम्घासमा क्लबको पाँचौ वार्षिकोत्सबको अवसरमा चौथो पुलचोक कप २०८० आयोजना गरिएको छ । 

सो अवसरमा रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले चौथो पुलचोक कप २०८० को शिल्ड अनावरण गर्नुभयो । उहाँले प्रतियोगिताले महिला सशक्तीकरणमा इट्टा थप्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले खेल क्षेत्रको विकासका राज्यले त्यती ध्यान नदिएको भन्दै खेल क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । 

प्रतियोगितामा रेसुङ्गा माध्यमिक विद्यालय, अर्जुन आवासीय माध्यमिक विद्यालय, ब्रिलियण्ट युनाइटेड एकेडेमी, ब्राइटर इङ्गलिस बोर्डिङ्ग स्कुल, महेन्द्र नमुना माध्यमिक विद्यालय, पालुखा माध्यमिक विद्यायलय, भगवती माध्यमिक विद्यालय, सिद्धबाबा माध्यमिक विद्यालय, आदर्श विद्या आश्रम, रिडर्स पब्लिक हाइ स्कुल र गण्डकी इङ्गलिश बोर्डिङ्ग स्कुल गरी ११ समूह सहभागी हुनेछन् । 

पुलचोक कप २०८० विजेताले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेताले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । खेल फिपा नियमबाट खेलाइनेछ ।