• २० वैशाख २०८१, बिहिबार

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत

blog

हाङ्जाउ (चीन), असोज ८ गते ।  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरुआत गरेको छ । १९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । अन्य खेलाडीले खेल्न बाँकी छ । 

आज सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अन्जली तामाङ पराजित भएका छन् । पुरुष ५८ किलोमुनिको तौल समूहमा कुमाल साउदी अरेबियाका खेलाडीसित पराजित भएका हुन् । उनी ४–१२ र २–० अङ्कले पराजित भए । 

यसैगरी महिला ४९ किलोमुनिको तौल समूहमा तामाङ प्रिक्वाटर फाइनलमा पराजित भइन् । उनी थाइल्याण्डकी खेलाडीसित १२–० तथा १०–० अङ्कले पराजित भइन् । तामाङले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई पराजित गर्दै प्रिक्वाटर फाइनल प्रवेश गरेकी थिइन् । 

यसअघि तेक्वान्दोको एकल पुम्सेको पुरुषतर्फ प्रेमबहादुर लिम्बू र महिलातर्फ स्वस्तिका तामाङ पराजित भइसकेका छन् । एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा अब पुरुषतर्फ गोविन्दबहादुर आले, वीरबहादुर महरा, अभिषेक बराल र ज्याकी यादव तथा महिलातर्फ आयशा लामा, सन्ध्याकुमारी सिंह र इन्दिरा बस्नेतले खेल्न बाँकी छ ।  

यसअघि नेपालले एसियाली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ काँस्य पदक प्राप्त गरेको थियो । 

रग्बीमा पनि नेपाल बाहिरियो 

यसैबीच एसियाली खेलकुद अन्तर्गत रग्बी सेभेन्समा नेपालको चुनौती समाप्त भएको छ । समूह ‘डि’ मा नेपालसहित युएइ, चीन र अफ्गानिस्तान रहेका थिए । नेपालले समूह चरणको तीनै खेलमा हार बेहोरेको छ ।  रासस