• २१ वैशाख २०८१, शुक्रबार

ताल झरनाको आकर्षण बढ्दै

blog

मनाङ समाचारदाता

मनाङ, असोज ८ गते । मनाङ जिल्ला प्रवेश नाकामा झुरुप्प बनेर बसेको तालगाउँ र झरनाको आकर्षण बढ्दै गएको छ। मनाङ जाने जो कोहीलाई यी दुई कृत्रिम तथा प्राकृतिक सौन्दर्यले स्वागत गर्छ।

तालगाउँको आकर्षण त्यसमाथि डाँडामा मनै लोभ्याउने झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ। मस्र्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपेको छ। 

तालगाउँको सुन्दरता दुइटा झरनासँगै डाँडाकाँडा र हरियाली वातावरणले मनै लोभ्याउने भएकाले आकर्षणको केन्द्र बन्दै गएका छन्। पछिल्लो समय मनाङको पर्यटकीय गन्तव्य बन्दै गएका छन् दुई झरना। पर्यटकलाई स्वागत गर्न बनेका यी झरनामा रमाउन आउने युवाको लर्को नै लाग्ने गरेको छ। तालगाउँ पुगेपछि झरनामा फोटो, भिडियो र पानीसँग नखेलेसम्म टाढिएर जाने कमै छन्। 

झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन्। अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो।  स्थानीय होटल व्यवसायी अञ्जु तामाङले होटलमाथिबाट झरनाको पानी खसिरहेको देखिने भएकाले टिकटक, ब्लग बनाउनेको लर्को नै लाग्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “मेरो होटलमाथिबाट झरनाको पानी झरिरहेको देखिन्छ त्यही भएर धेरैले टिकटक बनाउँछन्।” 

नासों गाउँपालिका–१, का वडाध्यक्ष मीनराशि गुरुङले झरनाको आकर्षण थप्न पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो। पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा यहाँको पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने भनाइ उहाँको छ।  वडाध्यक्ष गुरुङले भन्नुभयो, “यहाँको पर्यटकीय क्षेत्रका रूपमा विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न समन्वय गरिरहेको छु, प्राकृतिक स्रोतको उपयोग गरी आयआर्जनसँग जोड्ने गरी विकास गर्न आवश्यक रहेकाले सोही अनुसार काम गर्ने लक्ष्य लिएका छौँ।”

केही वर्षअगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँको अभाव थियो तर सडक पुगेसँगै बजार विस्तार हुन थालेको छ। २०७८ सालपछि तालगाउँ बिस्तारै पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ। 

पिसल्यान्ड होटलका सञ्चालक गुरु गुरुङले झरनामा रमाउन आउने पर्यटकका कारण आफूहरूको व्यवसायमा सहयोग पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, “बाह्य पर्यटक पदयात्रामा आउने भएकाले यहाँ बस्दा झरनामा रमाउँछन् र व्यापार पनि राम्रै भएको छ।” तालगाउँ एकीकृत बस्ती जस्तै गरी बनेकाले यसको आकर्षण बढेको छ। सहर बजारमा बस्नेहरू परम्परागत गाउँबस्ती तथा घरहरू देखेर रमाउने गरेका छन्। पर्यटकले यहीँ उत्पादित खाद्यवस्तु तथा स्थानीय परिकार माग गर्ने गरेका छन्।