• ४ जेठ २०८१, शुक्रबार

सामुदायिक वनभित्र ताल निर्माण हुँदै

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असोज ८ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वन ‘ख’ मा ताल निर्माण हुने भएको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा यो तालको निर्माण गर्न लागेको हो । 

प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकमार्फत ताल निर्माण हुने छ । यसअघि प्रदेशको पर्यटन मन्त्रालयले हिले जलजले सामुदायिक  वन ‘ख’ मा बहुउद्देश्यीय ताल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरे पनि पछि उक्त काम खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गत निर्माण गरिने भएको हो । 

गत वर्ष असारमा सिँचाइ कार्यालयमार्फत ताल निर्माणको काम अगाडि बढाउन डिपिआरसहित बजेट हस्तान्तरण गरिएको थियो । ताल निर्माणका लागि तयार गरिएको प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदनलाई परिमार्जन गर्नुपर्ने देखिएपछि सिँचाइ कार्यालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी ताल निर्माण गर्ने स्थानको रुख कटानका लागि डिभिजन वन कार्यालयलाई प्रतिवेदन बुझाएको छ । सिँचाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख इन्जिनियर मनिष महर्जनले ताल निर्माण हुने स्थानको रुख कटानका लागि वन कार्यालयमा पठाइए पनि रुख कटानको निर्देशन आउन बाँकी रहेको बताउनुभयो । 

उहाँले वन कार्यालयबाट रुख कटानका सहमति आएसँगै ताल निर्माणको काम अगाडि बढ्ने जानकारी दिनुभयो । प्रतिवेदन अनुसार ताल निर्माण हुने स्थानका ३०७ वटा रुख कटान गर्नुपर्ने देखिएको छ । उहाँले हिले जलजले सामुदायिक वन ‘ख’ मा निर्माण हुने पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र १८२ मिटर लामो रहने भन्दै तालको कुल क्षेत्रफल ०.४९ हेक्टर रहने बताउनुभयो । तालको बाँध ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा निर्माण गरिने छ । 

डिभिजन प्रमुख महर्जनले हिलो चरणमा ताल निर्माण हुने र र दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घरलगायतका अन्य पूर्वाधार निर्माण गरिने जानकारी दिनुभयो । उक्त वन क्षेत्रमा तालका साथै मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै ताल आसपासको सौन्दर्यीकरणको काम गरिने छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड रुपियाँ बजेट विनियोजन भएको छ । उक्त ताल निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । 

पहिलो चरणमा ताल निर्माणका लागि २०७९ साल मङ्सिर ८ गते विजय÷लोटस÷तेजस्वी जेभीसँग दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदनलाई परिमार्जन गर्नुपर्ने भएका कारण गत वर्ष काम हुन नसकेको डिभिजन प्रमुख महर्जनले बताउनुभयो । ताल निर्माणका लागि उक्त निर्माण व्यवसायी कम्पनीसँग पाँच करोड ८९ लाख ५१ हजार ५१० रुपियाँमा ठेक्का सम्झौता भएको छ । तालसहितका अन्य संरचना निर्माण लागत अनुमान भ्याटबाहेक १६ करोड ९४ लाख ५० हजार रुपियाँ रहेको छ । 

यहाँ ताल निर्माण भएपछि काठमाडौँको नजिकको पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ । हिले जलजल सामुदायिक वनमा ताललगायतका संरचना निर्माण भएपछि तालमा डुङ्गा, आसपास होटल तथा पसल सञ्चालनसँगै तालभन्दा तल्लो भागमा रहेको बस्तीका लागि खानेपानीको मुहानका लागि पानी पुनर्भरणसमेत हुने छ ।