• २२ मंसिर २०८०, शुक्रबार

'आर्थिक क्रान्तिका लागि जसपाको नेतृत्व आवश्यक'

blog

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेता राजकिशोर यादव । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, असोज ७ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादवले अब देशलाई समृद्ध बनाउन आर्थिक क्रान्ति र जनतालाई मालिक बनाउने अभियानको नेतृत्व जसपाले गर्नुपर्ने बताउनुभएको छ । उहाँले जसपामा समयको गतिमा हिँड्ने नेतृत्व र टीम भएको दावी गर्नुभयो ।

आइतबार भैरहवामा भएको जसपा निकट समाजवादी युवा सङ्घ नेपाल रुपन्देहीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यादवले जसपा पार्टी मात्र नभइ एउटा क्रान्तिको नाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जसपा परिवर्तनको आँधी ल्याउने पार्टी हो ।” पार्टीले समृद्ध नेपाल बनाउने लक्ष्य लिएर अघि बढेको उहाँले बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका नेता यादवले नेपालको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । उहाँले दैनिक हजारौं नेपाली विदेशिनुपर्ने अवस्था आउनुमा को जिम्मेवार छन् भन्दै प्रश्न गर्नुभयो ।

कांग्रेस, एमाले र माओवादीले नभई जसपाको अगुवाइमा भएको मधेश जनविद्रोहले देशमा परिवर्तन भएको उहाँले जिकिर गर्नुभयो । उहाँले परिवर्तनलाई उल्ट्याउने षडयन्त्र भइरहेकोमा बताउनुभयो ।

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापतिसमेत रहनुभएका यादवले देशको समस्या अब ठूला पार्टीबाट समाधान हुन नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार काण्डले मुलुकको आर्थिक अवस्था जर्जर छ ।” नेता यादवले युवा न्यायको पक्षधरता र क्रान्तिको पर्यायवाची भएकाले युवाहरु अझ जिम्मेवार बन्नुपर्ने बताउनुभयो । जसपा युवाहरुको पार्टी भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जसपाका केन्द्रीय समितिमा ४० प्रतिशत युवाहरुको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।”

त्यस्तै, जसपाका राजनीतिक समिति सदस्य मनिकर कार्कीले संघीयताबाट पछाडि हट्ने कुरा कदापि स्वीकार्य नहुने बताउनुभयो । उहाँले परिवर्तन मन नपराउने दलले सङ्घीयताको विरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै नागरिकलाई राज्यको पहुँचसम्म पुर्याउन सङ्घीयता आवश्यक छ ।” सङ्घीयताप्रति प्रश्न उठिरहेकोले यसबारे जनतालाई बुझाउनुपर्ने उहाँले बताउनुभयो ।

नेता कार्कीले जनसङ्ख्याको अनुपातमा समावेशी प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो । जसपाले समाजवादको विकल्पलाई आत्मसात् गरेर समाजवादी दिशातर्फ अग्रसर भइरहेको उहाँको भनाइ छ । 

जसपा केन्द्रीय सदस्य महेन्द्र यादवले जनतालाई दुःखसुखमा साथ दिने र अधिकार दिलाउने पार्टी जसपा भएको दाबी गर्नुभयो । उहाँले २०७४ सालको निर्वाचनमा जसपा रुपन्देहीमा दोस्रो शक्ति भएको र अब २०८४ मा पार्टीलाई पहिलो शक्ति बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टीकी केन्द्रीय सदस्य रीता यादवले जसपा सबैको पार्टी भएको बताउँदै पार्टीलाई अझै मजबुत बनाए कुनै दलसँग गठबन्धन गर्नु नपर्ने बताउनुभयो ।

समाजवादी युवा सङ्घकी केन्द्रीय उपमहासचिव रेनुराज सिंह, केन्द्रीय सचिव ठाकुर रितु राज, अशोक यादव, जसपा सङ्घीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव, जसपा रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलम, सिद्धार्थनगर अध्यक्ष उज्ज्वल पोखरेल, समाजवादी विद्यार्थी युनियन रुपन्देहीका अध्यक्ष वीरेन्द्र यादवलगायतले बोल्दै जसपा परिवर्तनको संवाहक भएको बताउनुभयो ।