• ११ असोज २०८१, शुक्रबार

पहाडी जिल्लामा समेत डेंगुको संक्रमण बढ्दै

blog

पाँचथर जिल्ला अस्पतालमा ल्याब अगाडी रगत परिक्षणको रिपोर्ट पर्खदै बिरामी । तस्विर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असोज ५ गते । पाँचथरको सदरमुकाम रहेको फिदिम नगरपालिकामा मात्रै दुई सय ५१ जना नागरिकलाई डेंगु संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लाका आठमध्ये ६ वटा स्थानीय तहमा ३ सय २० जनालाई डेंगु संक्रमण पुष्टि भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो । उहाँका अनुसार यो तथ्याङ्क भदौ १ देखि असोज ४ गते सम्मको हो ।

जिल्लाको मिक्लाजुङ र तुम्वेवा गाउँपालिकामा हालसम्म डेंगु संक्रमण भेटिएको छैन । यद्वपी सदरमुकामभन्दा केही टाढा पर्ने ती दुई स्थानीयका बिरामी जाँच र उपचारका लागि झापा र मोरङ जाने गरेकाले जिल्लामा उनीहरुको तथ्याङ्क नरहेको उहाँको भनाइ छ ।

सबैभन्दा धेरै संक्रमित फिदिम नगरपालिकामा छन्, यो नगरपालिकामा मात्रै हालसम्म २ सय ५१ जनलाई संक्रमण पुष्टि भइसकेको जनस्वास्थ्य कार्यालय पाँचथरले शुक्रवार साँझ अध्यावधिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, हिलिहाङ गाउँपालिकामा २६ जना, फालेलुङमा १२ जना, याङवरकमा ७ जना, कुम्मायकमा ११ जना, फाल्गुनन्दमा २ जना र जिल्ला बाहिर ठेगाना लेखिएका ११ जनामा संक्रमण देखिएको तथ्याङ्कमा उल्लेख छ ।

बिहिबार मात्रै फिदिममा १७ जनालाई डेंगु संक्रमण पुष्टि भएको तुम्बापोले बताउनुभयो । “पाँचथरका स्थानीय स्वास्थ्य संस्थामा डेंगु परिक्षण गरिँदैन । सदरमुकाकामको जिल्ला अस्पताल र गणेशमानसिंह सामुदायिक अस्पतालमा मात्रै डेङगी परिक्षणको सुविधा छ, केहि निजी क्लिनिकले पनि परिक्षण गर्ने तर तथ्यांक प्राप्त हुँदैन, तथ्याङ्कमा समेटिएका बाहेक पनि थुप्रै नागरिकलाई डेंगु भएको हुनसक्छ,” तुम्बापोले भन्नुभयो ।

डेंगु नियन्त्रणका लागि नगरपालिकाले किटनासक औषधि छर्ने र सरसफाई गर्ने जस्ता अभियान चलाइरहेपनि संक्रमण दर भने घटेको छैन ।