• २ असार २०८१, आइतबार

बेलायती राजदुत र स्वास्थ्यमन्त्री खनालबीच भेटवार्ता

blog

भेटवार्ताका क्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र बेलायती राजदुत रोब फेन । तस्विर : लीलाधर वली

लीलाधर वली

घोराही, असोज ५ गते । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदुत रोब फेनबीच स्वास्थ्य मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा बेलायत सरकारले नेपालमा गरिरहेको सहयोग र लुम्बिनी प्रदेशको स्वास्थ्य सेवाबारेमा छलफल भएको बताइएको छ । भेटका क्रममा विशेषगरी प्रदेशको पोषण र स्वास्थ्य शिक्षाका बारेमा छलफल भएको छ । भेटमा मन्त्री खनालले सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य, पोषणको अबस्थालगायत सुधारका लागि प्रदेश सरकारले काम गरिरहे पनि अपेक्षित सुधार हुन नसकेको बताउनुभयो । 

परिवार नियोजनका साधनको प्रयोग दर, नसर्ने रोग र मानसिक स्वास्थ्य पनि प्रदेशमा स्वास्थ्य समस्याको रुपमा रहेको मन्त्री खनालले बताउनुभयो । प्रदेशभित्रका अस्पतालको पूर्वाधार विकास र उपचारमा आवश्यक पर्ने उपकरण सहयोगका बारेमा उहाँहरुबीच छलफल भएको छ । 

मन्त्री खनालले बेलायतले नेपालमा गरिरहेको सहयोगका लागि धन्यवाद दिंदै भेटले दुई पक्षीय सम्बन्धलाई अझ प्रगाड पार्ने विश्वास व्यक्त गर्नुभयो । भेटका क्रममा बेलायती राजदुत फेनले प्रदेश सरकारको सुशासन र शासकीय प्रणाली, स्वास्थ्य सेवालगायतका बारेमा चासो राख्नु भएको थियो । 

राजदुत फेनले नेपालको पूर्वाधार र मानवीय विकासका लागी बेलायत सरकारको सहयोग रहँदै आएको स्मरण गर्दै प्रदेश र स्थानीय सरकारलाई आवश्यक परेका बेला सहयोग गर्न सधैं तयार रहेको बताउनुभयो । 

राजदुत फेनले नेपालको स्वास्थ्य सेवासँगै प्रदेशभित्रको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आबश्यक सहयोग गर्न बेलायत सरकार तयार रहेको बताउनुभयो । भेटमा स्वास्थ्य सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य निर्देशक डा. बिनोद गिरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको काम र भएका प्रगतिबारेमा जानकारी गराउनुभयो ।