• १३ मंसिर २०८१, बिहिबार

क्रिकेटमा देशको मुहार हेर्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्री खड्का

blog

कार्यक्रममा सहभागी कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का ।

काठमाडौं, असोज ५ गते । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपालको क्रिकेटमा देशको मुहार हेर्न सकिने बताउनुभएको छ । नेपाल क्रिकेट सङ्घको केन्द्रीय साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो । 

‘‘क्रिकेटमा देशको मुहार हेर्न सकिन्छ। यो समावेशिता, यो विविधतामा एकता कानूनी रूपमा निर्दिष्ट गरिएको कुनै आरक्षण नभएर खेलप्रतिभाको स्वतःस्फूर्त प्रस्फुरणका कारण सम्भव भएको हो । यसर्थ, क्रिकेटले राष्ट्रियता र राष्ट्रप्रेम उजागर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको विषय जगजाहेर छ।’’

कार्यवाहक प्रधानमन्त्री खड्काले क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभएको छ।

उहाँले नेपाली क्रिकेटको प्रस्तुति गौरवयोग्य रहेको बताउनुभयो। उहाँले चुनौतीका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गरेर यसका नियामक निकायमा अवाञ्छित हस्तक्षेप रोक्नुमात्र अब पर्याप्त नहुने भन्दै क्रिकेटमा लगानी बढाउने वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो। 

उपप्रधान एवं रक्षामन्त्री खड्काले खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित, एवं व्यवसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाली टिमको औषत आयु हेर्दा विश्वका जवान टिममध्ये एक भएको भन्दै थुप्रै क्रिकेटप्रेमी युवाहरु सुनौलो अवसरको आशामा क्रिकेटमार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर रहेको बताउनुभयो। उहाँले क्रिकेटको बिस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।

कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल सरकार र संवद्ध सबै संघसंस्था र खेलाडीहरु स्वयंले पनि नेपालको महिला क्रिकेट टिमलाई सशक्त र मजबुत तुल्याउन दीर्घकालीन योजना बनाएर उच्च तदारुकताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको जानकारीसमेत गराउनुभएको छ। 


सम्बोधनको पूर्णपाठ