बाबुराम कार्की
वराहक्षेत्र, असोज ५ गते । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । बिहिबार प्रहरीले सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका ५ घर भएका विवेक राईलाई इटहरी ६ बाट र सङ्खुवासभाकै मकालु नगरपालिका ६ का अजय राईलाई इटहरी ३ बाट विशेष सूचनाको आधारमा १ हजार दरको १५ सय ८७ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो ।
आज शुक्रबार इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी एक हजार दरका १५ लाख ८७ हजार रुपियाँ सहित विवेक राई र अजय राईलाई सार्वजानिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट नोकिया कम्पनीको सादा मोबाइल एक थान, ओप्पो कम्पनीको स्क्रिन टच मोबाइल एक थान र भिभो कम्पनीको स्क्रिन टच मोबाइल एक थान पनि बरामद गरी सार्वजनिक गरेको छ ।
नियन्त्रणमा रहेका विवेक र अजय राईलाई थप अनुसन्धानको लागि आजै जिल्ला अदालत सुनसरीबाट मुद्रासम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
सुनसरीमा पछिल्लो समय नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय बनेकोे छ । एक महिना अगाडी सुनसरीको रामधुनी नगरपालिकाबाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले रामधुनी नगरपालिका वडा नम्वर १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको थियो ।