• १४ मंसिर २०८१, शुक्रबार

तमोर हाइड्रोपावरद्वारा सर्वसाधारणलाई सचेत रहन आग्रह

blog

ताप्लेजुङस्थित निर्माणाधीन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ५ गते। ताप्लेजुङस्थित निर्माणाधीन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तमोर नदीमा पानीको बहाव घटबढ हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। 

निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाले हालसम्म सम्पन्न भएका केही संरचनाको परीक्षण कार्य सुरु भएकाले नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो।

परीक्षणका क्रममा तमोर नदीमा पानीको बहाव घटबढ हुने र यसबाट हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी आयोजनाले सूचना जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो। बाँध   तथा अन्डरस्लुस द्वारको निर्माण कार्य सम्पन्न भई सकेकाले नदीको पानीलाई बाँधमा लगाएर परीक्षण सुरु गरेको जनाएको छ। 

बाँधको अवस्था परीक्षण गरी आवश्यक थप निर्माण तथा मर्मतको कार्य गर्नुपर्ने भएकाले पानी पठाउने र खोल्ने क्रममा जोखिम हुने अर्थात् क्षति गर्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको आयोजनाले जनाएको छ। 

शनिबारदेखि आउँदो बुधबारसम्म नदी किनारमा मानिस नजान र पशु चौपाया नछोड्न आयोजनाले अनुरोध गरेको छ। सानिमाले ७३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।