क्यान्सरको एक खालको उपचार विधि हो– केमोथेरापी । उपचारात्मक, आयु लम्ब्याउन वा लक्षणहरू कम गर्न केमोथेरापी गरिन्छ । चिकित्सा क्षेत्रमा औषधी दिई क्यान्सरको उपचार गर्ने पद्धतिलाई ‘मेडिकल अल्कोलोजी’ भनिन्छ।
क्यान्सरमा प्रयोग हुने औषधी क्यान्सरका कोषलाई विषसरह नै हो । किनकि यसले क्यान्सरका कोष वृद्धि गर्न दिँदैन भने कतिपय केमोथेरापी औषधीले कोष वृद्धिका लागि निकै महत्वपूर्ण डिएनएमा असर पु¥याउँछन् ।
कोष वृद्धिका क्रममा कोष बाहिरका सङ्केतलाई रोक्ने औषधीलाई केमो औषधीको समूहमा राखिँदैन । कोषको अणुगत वा वंशाणु अंशलाई लक्षित गरी उपचार गर्ने अभिप्रायले कोषका वृद्धिलाई रोक्ने औषधीहरू केमोथेरापी समूहमा पर्छन् तर कतिपय क्यान्सर हर्मोनको प्रभावले हुने गर्दछ जस्तै कि एस्ट्रोजिनले स्तन क्यान्सर, एन्ड्रोजिनले प्रोस्टेट क्यान्सर गराउँछ । अतः यस्तै हर्मोनलाई लक्षित गरी क्यान्सरलाई नियन्त्रणमा ल्याउने हिसाबले चलाइने औषधी समूहलाई हर्मोन थेरापी भनिन्छ । त्यसै गरी कोषभित्रको कतिपय एन्जाइमलाई लक्षित गरी दिइने उपचारलाई टार्गेट थेरापी भनिन्छ ।
क्यान्सरविरुद्ध दिइने औषधी (केमोथेरापी, हर्मोन थेरापी, टार्गेट थेरापी) सिधै रगतमै दिइने हुनाले शरीरका अधिकांश अङ्गमा लागेको क्यान्सरलाई यिनले काम गर्दछन् । यसलाई प्रणालीमा आधारित थेरापीका रूपमा लिइन्छ । प्रणालीमा आधारित भन्नाले कुनै प्रणाली विशेषलाई लक्षित गरी जस्तै मूत्रप्रणाली, जननेन्द्रीय प्रणाली, रक्तप्रणाली आदि । तर कतिपय अवस्थामा प्रणालीगतका साथै लोकल थेरापी भनेर अङ्ग विशेष वा शरीरको स्थान विशेषमै दिइन्छ । जस्तै रेडियोथेरापी, शल्यक्रिया वा हाइपरथर्मिया (शरीरको तापक्रम बढाइने उपचार) आदि ।
बिसौँ शताब्दीको आरम्भतिर केमोथेरापी प्रचलनमा आइसकेको भए पनि कालान्तरमा चिकित्सा विज्ञानमा आएको प्रगतिसँगै क्यान्सर उपचारमा पनि निकै प्रगति हुन थाल्यो । परम्परागत केमोथेरापी खासगरी साइटोटक्सिक (साइटो– कोष, टक्सिन– विष) प्रकारका हुन्छन् । जसले कोष विभाजन (वृद्धि) मा प्रभाव पार्दछन् तर क्यान्सरयुक्त कोषहरू यस्ता खाले उपचारबाट नष्ट भइहाल्ने कुरा भने फरक फरक छ । स्तन क्यान्सर, रक्त क्यान्सर, आमाशयको क्यान्सर, पिसाब थैलीको क्यान्सर, फोक्सोको क्यान्सर, प्यान्व्रिmयाजको क्यान्सर, हड्डीको क्यान्सरमा केमोथेरापीको उपचार प्रभावकारी हुन्छ तर सबैखाले क्यान्सरलाई केमो औषधीले काम गर्दैन ।
निकै फैलिइसकेको (एडभान्स खालको) क्यान्सरमा केमोको काम छैन । त्यसै गरी रगत र मस्तिष्कबीचको पर्दाले मस्तिष्कमा केमो औषधी पुग्न गाह्रो हुने भएकाले मस्तिष्कको क्यान्सरमा पनि केमोको काम छैन ।
अधिकतर केमोथेरापीले कोषलाई नष्ट गरी वा यसको वृद्धिमा दखल पु¥याई कोष मर्ने प्रक्रिया सुरु गराउँछ । त्यसैले यस्ता खाले परम्परागत केमो औषधीका कारण छिट्टै वृद्धि हुने खालका सामान्य कोषमा पनि नकारात्मक असर पुग्दछ । हड्डीभित्रको रक्तमासीका कोष, खाद्यनली तथा रौँका कोष मानव शरीरमा छिट्टै वृद्धि हुने कोष हुन् । त्यसैले केमोथेरापीका कारण हड्डीभित्र रगत बन्ने प्रक्रियामा आघात पुग्ने, ओठ मुखभित्र घाउ आउने, कपाल झर्ने, पखाला लाग्ने जस्ता जटिलता देखा पर्दछन् ।
केमोथेरापी औषधीले शरीरको प्रतिरोधात्मक क्षमतामा असर पु¥याउने हुनाले शरीर आफैँले अटोइम्युनिटी भनेर केमो चलाइएका बिरामीको शरीरमा स्वतः प्रतिरोधात्मक क्षमतामा अधिक सक्रिय हुन गई बाथ रोग, एसएलई भनिने सिस्टमिक ल्युपस इरिथेमाटस, मल्टिपल स्क्लेरोसिस, भास्कुलाइटिस जस्ता प्रतिरोधात्मकतासँग सम्बन्धित स्वास्थ्य समस्या बढ्न जान्छन् ।
केमोथेरापीको क्रममा विभिन्न रणनीति अपनाइन्छ अर्थात् केमोथेरापी विभिन्न तरिकाले दिइन्छ । इन्डक्सन केमो भनेर क्यान्सरलाई नै निको पार्ने उद्देश्यले प्राथमिक उपचार गरिन्छ । सबैजसो क्यान्सर रोगीलाई यही उपचार दिए भइहाल्छ भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ तर एकातिर अस्पताल आइपुगुन्जेल क्यान्सर निकै फैलिसकेका कारण वा उमेर एवं रोगीको स्वास्थ्यस्थितिका कारण केमो थेग्न नसक्ने र अर्कोतिर सबैखाले क्यान्सरलाई केमो मात्रैले ठिक हुन्छ भन्ने पनि हुँदैन ।
मिश्रित खालको उपचार पद्धतिमा केमो औषधीका साथै शल्यक्रिया, विकिरण थेरापी वा हाइपरथर्मिया थेरापी पनि दिइन्छ । क्यान्सरयुक्त भागको मुख्य अंश निकालेपछि वा उपचार गरेपछि रोगमुक्त समय बढाउन वा समग्रमा रोगीको आयु लम्ब्याउन कन्सोलिडेसन थेरापी अपनाइन्छ । निओएड्जुभेन्ट थेरापीमा शल्यक्रिया गरेर क्यान्सर प्रभावित अङ्ग निकाल्नुअघि केमो दिइन्छ । जसले गर्दा ट्युमरको मात्रा घटाउन सहयोग पुग्दछ ।
छिट्टै फैलिने प्रकारका क्यान्सरमा पनि यस्तो खाले उपचार दिन आवश्यक हुन्छ । एड्जुभेन्ट केमोथेरापी भने रेडियोथेरापी वा शल्यक्रियापछि दिइन्छ । रेडियोथेरापी वा सर्जरीपछि क्यान्सरको थोरै अंश बाँकी रहेको आशङ्का भएमा, शल्यक्रियाबाट पूर्ण रूपमा क्यान्सर प्रभावित अङ्ग निकाल्न नसकिने अवस्थामा वा क्यान्सर फेरि दोहोरिन सक्ने आशङ्का भएमा एड्जुभेन्ट केमोथेरापी गरिन्छ । क्यान्सरयुक्त कोष शरीरको अन्यत्र भागमा फैलिएको खण्डमा पनि एड्जुभेन्ट केमोथेरापी दिने गरिन्छ ।
क्यान्सर फर्किने सम्भावनालाई कम गर्न मेन्टिनेन्स थेरापीमा केमो औषधीलाई निरन्तर रूपमा दिनु पर्दछ । यस्तै प्यालियाटिभ केमोथेरापी क्यान्सरलाई निको पार्ने उद्देश्यले नभई ट्युमरको भार घटाउन, रोगीको आयु लम्ब्याउन, लक्षणहरू कम गर्न र क्यान्सरको पीडा कम गर्न दिइन्छ ।
केमोथेरापी चलाउनुअघि केमोथेरापी लिन क्यान्सरको बिरामी सक्षम छ भन्ने निक्र्योल गरिन्छ । एक पटकमा क्यान्सरको केही अंशलाई मात्र नष्ट गर्ने हुनाले केमो औषधी पटक पटक चलाउनु पर्दछ । केमोको जटिलता घटाउन केमो उपचारलाई विभिन्न भागमा बाँडेर चरणगत रूपमा केमोको औषधी दिइन्छ । केमोको प्रभावकारिता क्यान्सरको प्रकार र क्यान्सरको स्टेज (चरण) मा निर्भर रहन्छ ।
अल्काइलेटिङ एजेन्ट, एन्टिमेटाबोलाइट्स, एन्टिमाइक्रोट्युबुल्स एजेन्ट, टोपोआइसोमेरेज इन्हिबिटर्स, साइटोटक्सिक एन्टिबायोटिकलगायतका धेरैजसो केमो औषधीहरू रक्तनलीद्वारा दिइन्छ । अधिकतर केमोको जटिलता भनेको यिनले शरीरको प्रतिरोधात्मक क्षमतालाई दबाउँछन् । जसले गर्दा रातो रक्तकोष, श्वेत रक्तकोष तथा प्लेटलेट्स जस्ता रक्तकोषको मात्रा घट्छ । रगत चढाउनुपर्ने परिस्थिति पनि आउँछ । रोग वा सङ्क्रमण छिट्टै लाग्ने हुन्छ । आन्द्राको सतही सुजन, वाकवाकी लाग्ने, बान्ता हुने, झाडापखाला लाग्ने, पेट फुल्ने, ज्वरो आउने, काम छुट्ने, पेट दुख्ने जस्ता जटिलता उत्पन्न हुन सक्छन् ।
यसले खाद्यनलीमा समस्या गराउने पनि हुन्छ । रक्तअल्पता, कपाल झर्ने, निःसन्तान, गर्भे शिशुमा विकार, स्नायु (नसा) झमझम गराउने, थकान, ध्यान केन्द्रित गर्न नसक्ने, ट्युमर पग्लिँदाका विकार, अङ्ग बिग्रिने समस्या पनि देखिन सक्छ ।
ट्युमरमा बन्ने रक्तनली सामान्य कोषमा भन्दा फरक हुन्छन् । सामान्य प्रकारको रक्तनली जस्तो बलिया हुँदैनन् । त्यसैले क्यान्सरयुक्त कोषमा ती रक्तनलीले यथेष्ट रगत पु¥याउन सक्दैनन् । यसको दुइटा अर्थ छ । पहिलो, अधिकतर केमो रगतबाट दिइने हुनाले कमसल खालको रक्तनलीयुक्त ट्युमरमा केमो औषधी आवश्यक मात्रामा पुग्न सक्दैन । दोस्रो, रगतको अभावमा ट्युमर कोष कुहिन थाल्छ । त्यस्तो ठाउँबाट रक्तस्राव हुन थाल्ने र ट्युमर पग्लिई हानिकारक प्रोटिन, युरिक एसिड, पोटासियम, फोस्फेट विकार बन्छ ।
कतिपय केमो विशेषतः मुटु, कलेजो, मिर्गौला एवं कानका लागि हानिकारक हुन्छन् । यी अङ्ग विशेषमा आघात पुग्ने भएका कारण तिनका थप लक्षण देखा पर्दछन् ।
त्यसै गरी केमोका कारण छाला राताम्य हुने, नङ टुक्रिने, मुख सुक्खा हुने, नपुंसकता हुने, एलर्जी हुने, कुपोषण हुने गर्छ । त्यसो त केमो क्यान्सरको लागि मात्र नभई कतिपय अटोइम्युन रोगका लागि पनि फाइदाजनक हुन्छ ।