• १४ मंसिर २०८१, शुक्रबार

हिमाली क्षेत्र घुन्सामा फल्न थाल्यो स्याउ

blog

उच्च हिमाली क्षेत्र फले र घुन्सामा फलेको स्याउ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ३ गते। ताप्लेजुङको हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा स्याउ फल्न थालेको छ। कञ्चनजङ्घा आधार शिविरको प्रवेशस्थल घुन्सा र फलेमा इटालीबाट बिरुवा ल्याएर रोपिएको स्याउ फल्न थालेको हो।

हिउँद यामभर निकै बाक्लो हिउँ पर्ने क्षेत्र फले र घुन्सामा स्याउको बिरुवा रोपेको छ महिनामै फल लाग्न थालेको हो। इटालीबाट बिरुवा ल्याएर परीक्षणका लागि रोपिएको फुजी र गोल्डेन डेलिसियस जातको स्याउ फल्न थालेको हो। हिमाली क्षेत्र फले र घुन्सामा मनाङ एग्रो नामक फार्मको समन्वयमा उक्त दुई प्रजातिको स्याउको बिरुवा ल्याएर रोपिएको हो।

स्याउको बिरुवा रोपिएको छोटो समयमा नै फल लाग्न थालेपछि फले र घुन्साका स्थानीय किसान हर्षित भएका छन्। परीक्षणका लागि रोपिएको स्याउ फलेपछि स्याउ खेती सफल हुनेमा पनि स्थानीय किसान आशावादी बनेका छन्। फलेका स्थानीय किसान मिङ्मा शेर्पाले स्याउ खेती सफल हुनेमा ढुक्क बनेको बताउनुभयो। 

यस्तै घुन्साका स्थानीय पेमा शेर्पाले पनि पहिलो पटककै परीक्षण खेती सफल भएको दाबी गर्नुभयो। परीक्षण खेतीअन्तर्गत रोपिएको बिरुवामा राम्रै फल लागेपछि घुन्सामा स्याउ खेती सफल हुने देखिएको उहाँले बताउनुभयो। व्यावसायिक स्याउ खेती गर्ने योजनामा रहेका घुन्साका किसानमा परीक्षण खेतीले आशा जगाएको पनि उहाँको भनाइ छ।

फले र घुन्सामा स्याउ खेती लगाउने योजनासहित दुई÷तीन वर्ष अघि नै यहाँका माटो स्वीजरल्याण्ड लगेर परीक्षण गरिएको थियो। माटो परीक्षणका क्रममा खेती गर्न सकिने पाइएपछि यसवर्ष स्याउको परीक्षण खेती गरिएको घुन्साका स्थानीय मिङ्माडण्डु शेर्पाले जानकारी दिनुभयो। 

युवा राजनीतिज्ञ तथा समाज सेवामा संलग्न रहँदै आउनुभएका शेर्पाका अनुसार फले र घुन्सामा ४०–४० वटा स्याउको बिरुवा रोपेर परीक्षण खेती गरिएको थियो।

उहाँका अनुसार प्रारम्भिक परीक्षण खेतीमा स्याउ फले पनि खेती पूर्णरुपमा सफल हुने÷नहुने निष्कर्षका लागि तीन वर्षसम्मको परीक्षणलाई हेर्नुपर्ने हुन्छ। सुरुवाती परीक्षण सफल भएकाले अन्तिमसम्मको परीक्षणले यहाँ स्याउ खेतीका लागि उपयुक्त हुने अर्थात् स्याउ खेती फस्टाउनसक्ने अनुमान गर्न थालिएको पनि उहाँले बताउनुभयो। 

यता स्याउ खेती लगाएको ठाउँमा खुकुरा र मौरी पालन पनि गरिएको छ। कुखुरा पालनले स्याउ खेतीका लागि मलको व्यवस्थामा सहयोग पुग्ने र मौरीले फूल खेलेको समयमा परागसेचनको काम हुने भएकाले खेतीसँगै कुखुरा र मौरीपालन गरिएको बताइएको छ। हिउँद याममा भने अत्यधिक चिसो हुने मौरी नबाँच्ने स्थानीयको भनाइ छ।

फलेको उचाइ तीनहजार २३२ मिटर रहेको छ भने घुन्साको तीनहजार ४७५ मिटर उचाइ रहेको छ। कञ्चनजङ्घाको भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहने यस क्षेत्रमा पर्यटक वा पाहुनालाई कोसेली प्रदान गर्न र आयआर्जन बढाउने उद्देश्यसहित यहाँका बासिन्दाले व्यावसायिक रूपमा स्याउ खेती लगाउने योजना बनाइरहेको जनाएका छन्।