• २७ वैशाख २०८१, बिहिबार

राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने : प्रदेश प्रमुख गुरुङ

blog

संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ । तस्बिर : रमेश पौडेल

रमेश पौडेल
पोखरा, असोज ३ गते । 
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

संविधान दिवसको उपलक्ष्यमा गण्डकी प्रदेश सरकारद्वारा पोखरामा आज (बुधबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । व्यापक जनसहभागितासहित निर्वाचित संविधानसभाद्वारा जारी गरिएको नेपालको संविधानले निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको प्रदेश प्रमुख गुरुङले बताउनुभयो ।

उहाँले यसै संविधानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको उल्लेख गर्नुभयो । नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य जस्ता लोकतन्त्रका आधारभूत मूल्य र मान्यताको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त गरेकाले यो संविधान उत्कृष्ट रहेको बताउनुभयो ।

संविधानको निर्माण र विकासका लागि राजनीतिक दलहरूले खेलेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै यसको रक्षा र पालनाका लागि समेत दलहरूकै इमान्दार प्रयासको आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभयो । सुशासनका पक्षमा हामी दह्रोसँग उभिन नसक्दा समाज नै भ्रष्टीकरणतर्फ उन्मुख हुने हो कि भन्ने सर्वत्र चिन्ता रहेको उहाँको भनाइ थियो । आम नागरिकले चाहेको विकासको अपेक्षा पूरा गर्नका लागि प्रमुख प्रतिपक्षीदल, अन्य राजनीतिक दलहरू सहित आमनागरिकको भूमिका महत्त्वपूर्ण हुने प्रदेश प्रमुख गुरुङले बताउनुभयो ।

यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देश सङ्घीय शासन व्यवस्थामा रूपान्तरित भई सङ्घ, प्रदेश र स्थानीय तहबाट नागरिकको अपेक्षा बमोजिमका विकासका काम र सेवा प्रवाह भइरहेको बताउनुभयो । नेपालको संविधानले निर्दिष्ट गरेको कार्यसूची बमोजिम गण्डकी प्रदेश सरकारले प्रदेशवासीप्रतिको जिम्मेवारी बोध गरी स्रोत, साधन र क्षमताले भ्याएसम्म नागरिकमैत्री सरकारको रूपमा उपस्थित भएको दाबी गर्नुभयो ।


उहाँले गण्डकी प्रदेश सरकारले हालसम्म विभिन्न ६३ वटा ऐन र २२ वटा नियमावली तर्जुमा गरेको जानकारी दिनुभयो । उहाँले कानुन कार्यान्वयनमा प्राप्त भएका पृष्ठपोषण लगायतका पक्षहरूको आधारमा बाझिएका ३४ वटा कानुनहरूलाई केही प्रदेश कानुन संशोधन ऐन मार्फत संशोधन गरिएको पनि जनाउनुभयो । साथै नेपालको संविधान, कार्य विस्तृतीकरण प्रतिवेदन र प्रचलित कानुन समेतको आधारमा गण्डकी प्रदेशभित्र थप ४२ वटा क्षेत्रगत कानुनहरू निर्माण गर्नुपर्ने पहिचान भई सूची तयार गरिएको समेत बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले पन्ध्रौँ योजना, प्रदेशको आवधिक योजना, दिगो विकास लक्ष्य र प्रदेशवासीको विकास चाहना तथा राजनीतिक दलहरूको विकासप्रतिको प्रतिबद्धतालाई दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा सार्वजनिक गर्दै खाका कोरिएको बताउँदै प्रदेश सरकारले नागरिकको समृद्धि र उन्नयनको खाका कोर्दै प्रदेशवासीको प्रतिव्यक्ति आय बढाउने, दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने, बहुआयामिक गरिबी न्यूनीकरण गर्ने, प्रदेशभित्र सडक सञ्जालको पहुँच स्थापित गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ र गुणस्तरीय बनाउनेतर्फ योजनाबद्ध विकासमा नयाँ पाइला चालेको उल्लेख गर्नुभयो । सुशासन, सेवा प्रवाहमा सहजता, जबाफदेहिता, भ्रष्टाचार नियन्त्रण, शासनमा नागरिकको पहुँच अभिवृद्धि जस्ता शासकीय आयामको सुधारमा गण्डकी प्रदेश क्रियाशील  रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी, कार्यक्रममा गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले संविधानको कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभयो । संसदीय दलमा विपक्ष दलका नेता खगराज अधिकारीले संविधानको कार्यान्वयन पक्षलाई लिएर संविधानप्रति खराब टिप्पणी गर्ने वर्गसँग सबै दलहरू सचेत रहन आग्रह गर्नुभयो । उहाँले केन्द्रीय मानसिकताबाट सङ्घीय सरकारपछि हट्नुपर्ने समेत बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, मूल समारोह समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीलगायतले संविधानको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न जनजातिका सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएका थिए । यस अगाडि पोखराको सहिद चोकबाट प्रभातफेरि सुरु भई मुख्यमन्त्रीको कार्यालयमा पुगेको थियो ।