गोकुल पराजुली
विराटनगर, असोज २ गते । विराटनगर महानगरपालिकाले तीन जना नगर रक्षकलाई पदमुक्त गरेको छ । जनता समाजवादी पार्टीका नेतालाई दुर्व्यवहार गरेको विषयलाई लिएर महानगर प्रमुख नागेश कोइरालाले नगर रक्षकहरूलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
गएको भदौ २७ गते ड्युटीमा रहेका नगर रक्षकसँग जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवसँग विवाद गरी दुर्व्यवहार गरेको विषय राजनीतिकरण भएपछि महानगरले समस्या समाधान गर्न कर्मचारीहरूलाई बर्खास्त गरेको हो ।
महानगर प्रमुखले प्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई आजैका मितिबाट लागु हुने गरी सेवाबाटको जिम्मेवारीबाट हटाएको जानकारी प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
नगर रक्षकहरूले जसपा अध्यक्षमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि जसपाले विरोधमा दबाबमूलक आन्दोलन गरेको थियो । आन्दोलनरत पक्षसँग समस्या समाधानका लागि महानगरले आयोजना गरेको छलफलमा घटना छानबिन गरी संलग्नलाई आवश्यक कारबाही गर्ने जिम्मेवारी नगर प्रमुख कोइरालालाई दिएको थियो ।
नगर प्रमुख कोइरालाले घटनाका सम्बन्धमा विभागीय प्रमुखहरू, प्रत्यक्षदर्शी र अन्य व्यक्तिहरूसँग साधारण सोधपुछ तथा सिसी टिभी फुटेज हेरेर बर्खास्त गर्ने निर्णयमा पुग्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
जसपा नेतामाथि दुर्व्यवहार गर्नेलाई साधारण नसिहत वा निलम्बन गरेर छानबिन गर्ने तथा उहाँहरूलाई सफाइको पूर्ण मौका दिनुपर्नेमा महानगरले हतारमा आफ्ना कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् ।
स्नेहा फार्मेसीका सञ्चालकसमेत रहनुभएका जसपा अध्यक्ष यादवले एक जना सिटी सफारी चालकलाई परेको समस्यामा सहजीकरण गरिदिन नगर रक्षकहरूसँग आग्रह गरेपछि विवाद उत्पन्न भएको थियो । उक्त साधारण विवादकै कारण नगर रक्षकमाथि महानगरले जागिरै गुम्ने गरी कडा कारबाही गरेको हो ।
यस्तै, करार सेवामा कार्यरत कर्मचारीहरू चार वर्षअघि विद्युत हेल्फर पदमा नियुक्त हुनुभएको थियो । पछि नगर रक्षकको अभाव भएपछि विद्युत हेल्फरहरुबाट केहीलाई फरक सेवामा खटाइएको थियो ।