काठमाडौं, असोज १ गते । नेपाल ओलम्पियन्स सङ्घले नेपालका विभिन्न ठाउँमा सञ्चालन गरेको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई तेस्रो वर्ल्ड ओलम्पियन्स फोरमका सहभागीले उच्च प्रशंसा गरेका छन् ।
टर्कीको इस्तानबुलमा गत शनिबार र आइतबार भएको दुई दिने वर्ल्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको सङ्घको गतिविधि मध्ये ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका सङ्घले पनि त्यस्तै खाले कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको नेपाल ओलम्पियन्स सङ्घका अध्यक्ष दीपक विष्टले बताउनुभयो ।
फोरममा अन्य देशका सहभागीले पनि आ–आफ्नो गतिविधिका बारेमा फोरममा जानकारी गराएका थिए । विष्टले भन्नुभयो, ‘‘हामीले सङ्घले पछिल्लो दुई वर्षमा गरेका ‘स्कुल टु ओलम्पिक’, ओलम्पियन्स रियुनियन लगायत कार्यक्रमलाई समेटेर तयार पारिएको भिडियो कार्यक्रममा प्रस्तुत गरेका थियौँ । जसमा स्कुल टु ओलम्पिक अभियानलाई सबैले प्रशंसा गर्दा खुसी लागेको छ । यसले अझै थप काम गर्ने प्रेरणा मिलेको छ । हामीले सही कामको सुरुवात गरेको महसुस गरेका छौँ ।’’
देश भित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाजको सेवा गनुपर्नेमा फोरममा जोड दिएको पनि विष्टले बताउनुभयो । ‘‘हामीले नेपाल ओलिम्पक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, प्याब्सन, एनप्याब्सनसँग सहकार्य गर्दै स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालन गरिरहेका छौँ । त्यसलाई भविष्यमा पनि निरन्तरता दिनेछौँ ।’’
फोरममा विश्वका एक सय ५० भन्दा बढी ओलम्पिन्स सङ्घका प्रतिनिधिको सहभागिता रहेको विष्टले बताउनुभयो । सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको पनि विष्टले बताउनुभयो ।
वर्ल्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष जोय बोउजोउले आफूहरूको सङ्घको उच्च मूल्याङकन गदै तारिफ गरेको उल्लेख गर्दै विष्टले नेपाल आउन नियन्त्रण सहित उनलाई मायाको चिनोको रूपमा सङ्घको तर्फबाट मयुरअंकित काठको आँखीझ्याल हस्तान्तरण गर्नुभएको थियो । वर्ल्ड ओलम्पियन सङ्घका अध्यक्षले समय मिलाएर नेपाल आउने वाचा गर्नुभएको विष्टले बताउनुभयो ।