• १३ मंसिर २०८१, बिहिबार

रुकुम सल्यान खण्ड अवरुद्ध

blog

पितिबाङ खोलामा बाढीले कल्भर्ट बगाएपछिको अवस्था । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, असोज १ गते । राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यान खण्डको मुसिकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा बाढी आउँदा आइतबार दिउँसोदेखि उक्त सडक खण्ड अवरुद्ध भएको छ । 

खोला वारपारको लागि राखिएको कल्भर्ट र ढलानको वरिपरिको भाग बाढीले बगाउँदा बाटो अवरुद्ध भएको हो । आइतबार दिउँसो देखिको अविरल वर्षापछि आएको बाढीले कल्भर्ट र ढलानमा वरिपरिको भाग बगाएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय चौरजहारी र स्थानीय सरकारसँगको सहकार्यमा सडक सञ्चालनको लागि प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले अवरुद्ध सडकमा होमपाइप हालेर सडक सुचारु गर्ने कोसिस भइरहेको बताउनुभयो । कार्यालयबाट खटिएको प्राविधिक टोलीले आज दिनभरमा सडक सुचारु गर्नका लागि समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो । 

सडक अवरुद्ध हुँदा राप्ती राजमार्ग हुँदै दाङ, नेपालगन्ज, काठमाडौँलगायतका जिल्ला बाहिरबाट र तथा त्रिवेणी गाउँपालिका क्षेत्रबाट जिल्ला सदरमुकाम मुसिकोट आउजाउ गर्ने सवारी साधनहरू खोला वारिपारि रोकिएका छन् । 

पितिबाङ खोलामा पुल निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवाले २०७६ सालमा लिए पनि अहिलेसम्म पुल बनेको छैन । जस कारण यस खण्डमा बर्सेनि समस्या दोहोरिने गरेको छ । पक्की पुल नबन्दा बर्सेनि नागरिकले सास्ती भोगिरहेका छन् ।