• १९ वैशाख २०८१, बुधबार

हरितालिका तिज आज, पशुपतिमा विशेष व्यवस्था

blog

काठमाडौँ, असोज १ गते । काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सनातन पर्वका रूपमा मनाउँदै आएको तिज सोमबार विशेष उल्लास र उमङ्गका साथ मनाउँदै छन् । आइतबार भाद्र शुक्ल द्वितीयका दिन मध्य रातअघि नै घर घरमा आफन्त र चेलीबेटीहरू जम्मा भएर सात्त्विक भोजनलाई दरका रूपमा खाएर तृतीयाको दिन निर्जल निराहार व्रत बसी आराध्यदेव भगवान् शिवको पूजाआराधना गर्ने परम्परा रहेको छ । कसै कसैले यस दिन मध्यान्नमा उमामहेश्वरको पूजा लगाउने पनि गर्छन् ।

यस दिन व्रतको पालना गर्दा अविवाहितले आफूले चाहे जस्तो सक्षम, सुयोग्य वर प्राप्त हुने र विवाहितले भने आफ्नो श्रीमान्को दीर्घायु र सन्तानको उन्नति प्रगतिको कामनाले व्रत बस्ने गर्छन् । तृतीयाको दिन बिहानै शुद्ध भई सोह्र शृङ्गार गरेर आफ्नो व्रतको सङ्कल्पसहित आफ्नो पूजा स्थानमा दियो बाल्ने र भक्तिपूर्वक भगवान्को आरधना गर्ने गरिन्छ । त्यस्तै आफ्नो स्थान वरपरका शिवालयमा गएर पनि पूजाआजा गर्ने गरिन्छ । लामो समयपछि माइतघरमा भेट भएका दिदीबहिनी साथीसँगीहरू भेला भएर नाचगान गर्ने, आफूले अनुभव गरेका सुख दुःखलाई गीतको शैलीमा अभिव्यक्त गर्ने गर्छन् । त्यसैले यो पर्वलाई नाचगानको पर्वका रूपमा लिने गरिन्छ । भोलिपल्ट ब्राह्मणबाट गोदान र पूर्णपात्रो गरेपछि मात्र व्रत सम्पन्न भएको मानिन्छ । यस वर्ष भोलिपल्ट नै १० बजेपछि पञ्चमी तिथि सुरु हुने भएको पञ्चमीको पूजा र व्रत पनि सोही दिन गर्न पण्डितहरूको सुझाव रहेको छ । 

सोमबार काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरूको विशेष भिड लाग्छ । उक्त भिडलाई व्यवस्थापन गर्दै व्रतालुलाई सहज ढङ्गले दर्शनको व्यवस्था गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । दर्शनार्थीको सहजताका लागि बिहान ३ बजेदेखि नै मन्दिर परिसरको चार वटै ढोका खुला गरिने विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस पटक विकास कोष जुत्ता, चप्पल राख्नेदेखि लिएर दर्शनार्थीहरू दर्शन गरेर फर्कनसमेत गाह्रो नहुने गरी व्यवस्थापनको तयारी गरेको छ ।” दर्शन गर्न आउने दर्शनार्थीहरूको लागि पनि वनकालीबाट एउटा लाइन, तिलगङ्गाबाट एउटा र राम मन्दिरबाट एउटा लाइनको व्यवस्था गरेको अधिकारीले जानकारी दिनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग कोषका सुरक्षकर्मी पनि मन्दिर परिसरमा खटिने छन् । साथै मन्दिरभित्र सकेसम्म महिला सुरक्षाकर्मीलाई मात्र प्रवेश गर्न व्यवस्था मिलाइएको पनि अधिकारीले बताउनुभयो । सञ्चारकर्मीका लागि भने सूचना विभागको कार्ड र भिडियो लाइभ गर्नेहरूका लागि अफिसले पठाएको पत्र चाहिने उहाँको भनाइ छ । यस्तै पार्किङको व्यवस्था भने लाइनलाई पायक हुने गरी सिफल चोक, तिलगङ्गा आँखा अस्पताल, कोषको कार्यालय र गौशला प्रहरी वृत्तमा मिलाइएको अधिकारीले बताउनुभयो । स्वास्थ शिविरमा भने २४ घण्टा नर्स र डाक्टर र नेपाली सेनाको ठुलो शिविर रहने छ । 

यस वर्ष असोज १ गते नै विश्वकर्माको पनि पूजा गर्ने दिन पनि परेको छ । यस दिन कलकारखाना, हातहतिरयार र सवारी साधनलाई विश्वकर्माको रूपमा विशेष पूजाआजा गरेर मनाउने परम्परा हिन्दु समाजमा रहँदै आएको छ । यसै दिन बिहान १० बजेपछि चतुर्थी तिथि लाग्ने भएकाले भगवान् गणेशको प्रकट भएको स्मरण गर्दै गणेश चतुर्थी पनि मनाउने चलन रहेको छ । विशेष गरी काठमाडौँ उपत्यकाका नेवार समुदायका महिलाहरू विशेष उत्साहको साथ गणेश भगवानको पूजा गरेर चतुर्थी मनाउने परम्परा रहेको छ । यस दिन गणेश मन्दिरहरूमा विशेष पूजाआजा गर्ने गरिन्छ ।