हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत ८ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ७ महिनामा १२ अर्ब १५ करोडभन्दा बढी मूल्यको वस्तु आयात गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ भदौ महिनाको ३० गतेदेखि व्यवसायीक रूपमा सञ्चालनमा आएको भन्सार कार्यालयले यो अवधिमा १२ अर्ब १६ करोड ९८ लाख बराबरको सामान आयात तथा २० करोड ३० लाख ३९ हजार बराबरको निर्यात गरी पाँच अर्ब ७१ करोड नौ लाख राजस्व सङ्कलन गरेको हो ।
चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला)बाट नियमित विद्युतीय सवारी साधनसहित अन्य सामान बोकेका कन्टेनरहरूबाट उक्त राजश्व उठाउन सफल भएको भन्सार कार्यालयका सूचना अधिकारी अबिन्द्र सिंहले बताउनुभयो ।
सूचना अधिकारी सिंहले भन्नुभयो, ‘‘चिसोले निकासी पैठारीमा असर गरेको छ, यो समयमा चिनियाँ पर्व ल्लोसारले पनि आयात प्रभावित भयो ।’’ सूचना अधिकारी सिंहका अनुसार आयात हुनेमा विद्युतीय सवारी साधन, घरायसी सामान, कस्मेटिक, विद्युतीय उपकरणसहित कपडा, जुत्ता लगायत रहेका छन् भने नेपालबाट निर्यातमा हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ । हालसम्म कोरला नाकाबाट २३ सय ४७ विद्युतीय सवारी साधन प्रवेश गरेका छन् ।
रसुवा र तातोपानी नाका खुलेपछि चिनियाँ सवारी साधन कोरला नाकाबाट कम हुँदै गएको छ । चिनियाँ भन्सारबाट आएका सामानहरूको जाँचपास सहज भएपनि पुस, माघ र फागुन महिनामा सडकमा जमेको हिउँ, निर्वाचनका कारण समेत निकासी, पैठारीमा असर गरेपनि चैत्रदेखि असार महिनासम्म सहज हुने मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि एक सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै पोखरा लैजाने गरिन्छ । जाडो घटेपछि कोरला नाकामा व्यापार गर्न तथा सामान ढुवानीका कारण कोरला नाकामा मजदुर, चालक र स्थानीय व्यापारीको समेत चहलपहल बढ्न थालेको छ । समुन्द्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.सं. २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको थियो ।