छिन्चु समाचारदाता
सुर्खेत, भदौ ३० गते । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक एमआरआई मेसिनमार्फत स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको छ। प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बर खड्काले शुक्रबार सो सेवाको सुरुवात गर्नुभयो। करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ प्रोग्राम इन्स्टल गरेर एमआरआईमार्फत सेवा सञ्चालन गरिएको हो। १५ महिनादेखिको प्रयासपछि नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई सेवा दिन थालिएको छ।
निर्देशक प्राडा खड्काका अनुसार सुर्खेतमै एमआरआई मेसिनबाट सेवा सुरु भएपछि स्वास्थ्य परीक्षणका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ। सो मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको छ। एमआरआई मेसिन उच्च गुणस्तर र प्राविधिक विवरण प्राविधिक विशिष्टताका हिसाबले उच्च गुणस्तर रहेको जनाइएको छ।
अहिलेसम्म नेपालकै सबैभन्दा बढी क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडानले कर्णालीका नागरिकलाई उपचारमा धेरै सहज हुने अपेक्षा छ। सङ्घीय स्वास्थ्य तथा
जनसङ्ख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदका लागि बजेट उलब्ध गराएको थियो। २९ करोड ७१ लाख रुपियाँमा सो मेसिन खरिद गरिएको हो। सन् २०२३ मा निर्मित भएर परीक्षण गरिएको मेसिन हो।
के हो एमआरआई ?
एमआरआई उच्चस्तरको प्रविधि हो। चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ। यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ।
त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ। ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्व्रmमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ। मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ। एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ। आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ।