मीना कँडेल
कावासोती, भदौ २९ गते । पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका–३, जुल्पेटारका यम खाम्चा बोल्न र हातको सहायताले केही पनि गर्न सक्नुहुन्न। जन्मजात नै शारीरिक रूपमा अशक्त खाम्चाले खुट्टाले भने काम गर्नुहुन्छ। साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई पनि उहाँ जस्तै साहित्यकार बन्ने रहर छ।
बोल्न र हातले लेख्न नसक्ने २६ वर्षीय खाम्चाको स्मरणशक्ति निकै राम्रो छ। मनोबल पनि उच्च छ। मुस्किलले चलेका दुई खुट्टाको सहायताले १२ कक्षा पास गर्नुभएका यमलाई अब उच्च शिक्षा हासिल गर्ने मन छ।
उहाँले खुट्टाको सहायताले लेख्ने, सामाजिक सञ्जाल चलाउने गर्नुहुन्छ। अन्य मानिस जस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने निकै ठुलो छ। आफू शारीरिक अशक्त भएर पनि नयाँ प्रविधिको अध्ययनमा रुचि राख्ने खाम्चा आधारभूत कम्प्पुटर कक्षा पूरा गरी बस्नुभएको छ। उहाँ आफ्नो बौद्धिक क्षमतालाई उजागर गर्न प्राविधिक उपकरण ल्यापटप र मोबाइल खुट्टाको सहायताले चलाउने गर्नुहुन्छ। उहाँका बुवा मनबहादुर खाम्चाले छोराले साहित्य सिर्जना गर्ने गरेको बताउनुहुन्छ। भविष्यमा साहित्यकार बन्ने रहर भएका खाम्चा त्यसका लागि अगाडि बढ्नुभएको छ। उहाँले खुट्टाकै सहाराले अहिलेसम्म झन्डै पाँच सय वटा मुक्तक लेखिसक्नु भएको छ। आफूले लेखेको मुक्तकलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने रहर छ । आठ वर्षसम्म ओछ्यानमा बिताएको छोराको कुरा अरूसामु पुगेको देख्दा आमा योगमाया खाच्चा निकै खुसी हुनुहुन्छ ।
यमको सपना साकार पार्न सहयोग गर्ने उद्देश्यले कावासोती–२ का धनबहादुर मास्की रानाले आफ्नो जन्मदिनको अवसर पारेर बिहीबार एक थान ल्यापटप हस्तान्तरण गर्नुभयो। उहाँले भन्नुभयो, “फजुल खर्च गर्नु भन्दा शारीरिक अवस्थामा अशक्त भए पनि मानसिक रूपमा सबल सक्षम भएकाले आफ्नो जन्मदिनमा ल्यापटप दिएको हो। साहित्यकार बन्ने रहरलाई पूरा गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ।”
आमा योगमाया छोराको बढ्दो उमेर र आफ्नो बुढ्यौलीका कारण दुःखी भएको सुनाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “मलाई विस्तारै बुढौलीले छुँदै छ, ६२ वर्षको भएँ, घरमा छोराको रेखदेख गर्दा नै दिन बित्छ। जति बेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ तर कसरी पढाउने।’’ छोराको भविष्य सम्झिएर उहाँका आँखा रसाउँछन्। आँसु पुछ्दै उहाँले छोराको भविष्य सम्झेर डर लाग्ने गरेको बताउनुभयो। कुपोषणका कारण शरीरका अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि उहाँलाई निको बनाउने परिवारको आशा निराशामा परिणत भएको थियो।