• १ जेठ २०८२, बिहिबार

बनेपा बजार क्षेत्रमा सडकको डिजाइन परिवर्तन गर्न माग

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, भदौ २९ गते । अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक छ लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिइएको छ। सडक विस्तारको काम अगाडि बढेसँगै काभ्रेपलाञ्चोक, बनेपाको पुलबजारदेखि चण्डेश्वरी खोलासम्मको सडकको डिजाइन परिवर्तन गर्नुपर्ने माग उठेको छ। 

बुधबार बनेपा नगरपालिकाको समन्वयमा काभ्रे उद्योग वाणिज्य सङ्घले राजमार्ग विस्तारबाट व्यवसायमा पर्ने प्रभावबारे सरोकारवालासँग अन्तव्रिर्mया गरेको छ। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायीले राजमार्ग विस्तार गर्ने क्रममा पुलबजारदेखि चण्डेश्वरी खोलासम्मको सडकको मुख्य चार लेन (एक्सप्रेस रोड) मा सडकको उचाइ बढाउँदा घर डुबानमा पर्ने समस्या दोहोरिने भएकाले उक्त क्षेत्रको सडकको डिजाइन परिवर्तन गर्न सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनालाई आग्रह गरेका हुन्। 

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आयोजनाले गरेको सडकको डिजाइन अनुसार पुल बजार, चारदोबाटो र चण्डेश्वरी खोला नजिक सडकको उचाइ बढ्ने बताउनुभयो। “राजमार्ग विस्तार हुने कुरामा हाम्रो समर्थन छ, सडकको उचाइ बढाउँदा तथा विस्तार गर्दा हिजोको जस्तो हाम्रो बस्ती डुबानमा पर्नु हुँदैन, यस कुरामा आयोजनाले गम्भीरतापूर्वक सोच्नु पर्छ,” नगर प्रमुख शाक्यले भन्नुभयो। उहाँले घर बस्ती डुबाउने गरी तयार गरिएको डिजाइनलगायतका धेरै कुरालाई सुधार गर्न आयोजनालाई आग्रह गरिएको पनि जानकारी दिनुभयो। नगर प्रमुख शाक्यले आयोजनासँग राजमार्गको शाखा सडक जाने बाटोको सन्दर्भ, बाटो विस्तार गर्दा हुने ढल, खानेपानीलगायतका समस्याको विषयमा आयोजनासँग गम्भीर रूपमा छलफल गरिएको बताउनुभयो। 

बनेपावासी र व्यापारी अरनिको सडक विस्तारका क्रममा बनेपा बजार क्षेत्रको व्यापार, व्यवसायमा असर पर्नेमा चिन्तित देखिएका छन्। कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले प्राविधिक कुरालाई मिलाएर बनेपाको पुलबजारलगायतका क्षेत्रमा हुँदै आएको डुबानको समस्या समाधान गर्ने तरिकाले सडक विस्तार गरिनुपर्नेमा जोड दिनुभयो। उहाँले सडक विस्तार गर्दा बनेपाको मुख्य बजार क्षेत्रमा निर्माण व्यवसायीले कति समयमा काम सक्ने भन्ने विषयमा प्रतिबद्धता जनाउनुपर्ने माग गर्दै बजार क्षेत्रमा दशैँ र तिहारपछि मात्रै सडक विस्तारको काम सुरु गर्ने विषयमा छलफल भएको बताउनुभयो। 

स्थानीय जुजुकाजी शुद्धाकारले सडक विस्तार गर्ने क्रममा मुख्य चार लेनको सडकको उचाइ बढाउने र दुईतिरको सर्भिस लेन होचा बनाउँदा बस्ती र घर डुबानमा पर्ने चिन्ता व्यक्त गर्नुभयो। उहाँले बिचको भागको उचाइ बढाउने र सर्भिस लेन होचो बनाएको खण्डमा आफूहरू सङ्घर्षमा उत्रने चेतावनी पनि दिनुभयो। 

कार्यक्रममा पेट्रोलियम व्यवसायी आत्माराम थापाले विकासका नाममा व्यवसायीलाई सुकुमवासी बनाउने काम गर्न नहुने धारणा व्यक्त गर्नुभयो। काभ्रे उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रकाश कायस्थले सडक विस्तारसँगै बनेपा बजारको व्यवसाय पलायन हुने खतरा बढेको बताउनुभयो। 

“सडकमा कहाँ पार्किङ गर्ने, सडक बनेपछि बनेपा कस्तो हुन्छ भन्ने विषयमा नगरपालिकाले खासै चासो दिएको छैन। यस विषयमा नगरपालिकाले गम्भीर भएर योजना बनाउनुपर्ने देखिन्छ,” उहाँले थप्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायीले सडक विस्तार गर्दा तीनदोबाटो, चाँदनीचोक र चारदोबाटोमा आकासे पुल पनि निर्माण गर्नुपर्ने माग गरेका छन्। सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाका इन्जिनियर माधव पौडेलले तीन वर्षभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो। उहाँले भूबनोट अनुसार सडक विस्तारको काम हुने बताउनुभयो। 

सडक विस्तार गर्दा साढे चार मिटरसम्म सडकको उचाइ बढ्ने जानकारी दिँदै उहाँले अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्दा मेन लेन, सर्भिस लेनसहित ७५ फिट चौडाइको सडक हुने बताउनुभयो। उहाँले सडक विस्तार गर्दा नागरिकमा न्यूनतम असर गर्ने गरी काम गरिने बताउनुभयो।