• २२ असार २०८१, शनिबार

भवन नहुँदा पठनपाठनमा समस्या

blog

दोलखा समाचारदाता

दोलखा, भदौ २८ गते । दोलखाको भीमेश्वर नगरपालिका–९, झिँगानेमा रहेको कालीदेवी प्राथमिक विद्यालयको भवन नहुँदा पठनपाठनमा समस्या भएको छ। कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयका ४० जना विद्यार्थी कष्टकर रूपमा अध्ययन गर्न बाध्य छन्। 

२०७२ सालको भूकम्पपछि दाताले जस्तापाताको टहरा निर्माण गरिदिए पनि अझै पक्की भवन निर्माण हुन सकेको छैन। विद्यालयका प्रधानाध्यापक नारायण खड्काले भन्नुभयो, “विद्यालयका नाममा लालपुर्जा नहुँदा पक्की भवन बन्न सकेन। दाताले बनाइदिएको जस्तापाताको टहरा पनि जीर्ण बन्दै गएपछि पठनपाठनमा समस्या आएको छ।” घाम लागेको बेला जस्तापाताले पोलेर बालबालिका बिरामी हुने र पानी परेको बेला जस्तापाता बजेर पढाएको सनिँदैन । हिउँ पर्ने स्थान भएकाले जाडोमा त विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक खड्काले बताउनुभयो ।

विद्यालयको पक्की भवन कुनै निकायबाट निर्माण भए पठनपाठन सहज हुने स्थानीय बुद्धिजीवी साजन पाख्रिनले बताउनुभयो। 

विद्यालयमा भवन मात्रै होइन, खेलमैदान र पिउने पानीको समेत व्यवस्था छैन। भर्खरै मात्रै खानेपानीको प्रबन्धका लागि स्कुल अफ डेमोक्रेसीका अध्यक्ष प्रभुराम श्रेष्ठले पानीको पाइप र ट्याङ्कीसहित धारा उपलब्ध गराउने भएपछि विद्यालय परिवारलाई राहत हुने भएको प्रधानाध्यापक खड्काले बताउनुभयो।

कक्षा ५ सम्म अध्ययन हुने विद्यालयमा शिक्षकसमेत पर्याप्त नहुँदा सोही विद्यालयमा अध्ययन गर्नुभएकी हाल अमेरिकामा बस्नु हुने महिला मीनाकुमारी श्रेष्ठले आफ्नो गाउँका बालबालिकाको पठनपाठन राम्रो होस् भन्ने हेतुले दुई जना शिक्षक राखेर तलबसमेत खुवाइराख्नु भएको छ। स्थायी दरबन्दी एक, राहत दुई, शिशु कक्षा सहजकर्ता एक र कार्यालय सहयोगी एक मात्रले पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक खड्काले बताउनुभयो ।

विद्यार्थीको नाजुक अवस्था देखेर प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बिपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा स्कुल अफ डेमाक्रेसी दोलखाले विद्यालयका विद्यार्थीका लागि ट्र्याक सुट, खेलकुद सामग्री र स्टेसनरी वितरण गरेको छ।