• ६ जेठ २०८१, आइतबार

एक वर्षमा २९ हजार क्यान्सर बिरामीको उपचार

blog

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, भदौं २७ गते । बाँकेको खजुरामा स्थापना भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ । 

अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उपचारका लागि आउने क्यान्सरका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभयो । 

अध्यक्ष मल्लले भन्नुभयो, ‘कर्णालीका जिल्लामा नजिकै सुविधा सम्पन्न क्यान्सर अस्पताल छ भनेर प्रचार–प्रसारदेखि गाउँमा क्यान्सरका बिरामी पहिचानका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिरहेका छौँ ।’

अस्पतालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा सामान्य बिरामीसहित २५ हजार १८१ जना बिरामीले अस्पतालबाट सेवा लिएकोमा गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार २५५ जना बिरामीले क्यान्सरको मात्रै उपचार सेवा प्राप्त गरेका छन् । 

खजुरा क्यान्सर अस्पतालमा पाठेघर, स्तन तथा थाइराईडसम्बन्धि क्यान्सरको उपचार हुनेगरेको छ । अस्पताललाई विशिष्टीकृत बनाउन आधुनिक प्रविधि भित्र्याउने काम समेत जारी रहेको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालले उपचारसँगै सरसफाइलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । 

अस्पतालमा पोजेटिभ प्रयास आइसियु तथा रक्त क्यान्सरको बिरामीका लागि अलग्गै हेम्टो–अन्कोलजी वार्ड र रक्त सञ्चार केन्द्र समेत सञ्चालनमा आइसकेको छ । लिनायक मेशिन कानुनी अड्चन पूरा भई भन्सारबाट भित्र्याएर हाल जडानको क्रममा रहेको छ । 

अस्पताल विकास समितिका अध्यक्ष मल्लले कर कोषबापत प्राप्त हुने रकम क्यान्सरका बिरामीको उपचारका लागि क्यान्सर अस्पताललाई उपलब्ध गराएमा बिरामीको उपचारका लागि थप सहयोग प्राप्त हुने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।