• १५ मंसिर २०८१, शनिबार

कोरियाको भिसा रद्द गरी गाउँमा कृषिकर्म

blog

बाँके समाचारदाता

बाँके, भदौ २७ गते । बाँकेको कोहलपुर नगरपालिका–११, कृषि रोडका ३८ वर्षीय सर्वजित वंशीमगरले करिब नौ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताउनुभयो ।

तर भिसा अवधि बाँकी रहँदै नेपालमै केही गर्नु पर्छ भन्ने मान्यता राखेर उहाँ दुई वर्षदेखि कृषि व्यवसायमा जुट्नुभएको छ । कोहलपुरसँग सीमा जोडिएको खजुरा गाउँपालिका–४, एफगाउँमा कृषि फार्म सञ्चालन गर्नुभएका वंशीमगरले एक बिघा जग्गामा ड्र्यागन फ्रुट, माछा, बङ्गुर तथा कुखुरापालन र कागती खेती गर्दै आउनुभएको छ । 

वंशीमगर भन्नुहुन्छ, “कोरिया जानुभन्दा पहिले पनि गाउँमै केही गरौँ भन्ने सोच थियो, बाध्यताले कोरिया पुगियो । आठ/नौ वर्ष बसेपछि फेरि गाउँमै केही गरौँ भन्ने लागेर डेढ वर्ष बाँकी रहेको भिसा रद्द गरी यो काममा लागेको छु ।” 

कोरियामा कार्पेट बनाउने कम्पनीमा कार्यरत उहाँको अहिलेको दैनिकी भने फरक छ । ड्र्यागन फ्रुट र कागती, स्थानीय जातका कुखुरा, बङ्गुरको रेखदेख र माछालाई दानापानी दिने तथा फार्ममै माछा काटेर बिक्री गर्दै उहाँको दैनिकी बित्ने गरेको छ । बायोफ्लक प्रविधिमार्फत माछापालन गर्दै आउनुभएका वंशीमगरले माछा बजार पठाउन थाल्नुभएको छ । बङ्गुर र कुखुरा तथा ड्र्यागन फल र कागतीको उत्पादन बजारमा पठाउन केही समय लाग्ने उहाँको भनाइ छ । 

आफूले गरेका कामबाट सन्तुष्ट रहनुभएका वंशीमगर व्यवसाय थप विस्तार गर्ने, फार्मभित्रै अर्गानिक रेस्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बताउनुहुन्छ । दुई वर्षको अवधिमा सरकारी निकायबाट अनुदान नपाएका उहाँ कोरियाबाट फर्केर कृषिकर्ममा लागेकामा खुसी नै रहेको बताउनुहुन्छ । कोरियामा १५ वर्ष काम गरेर फर्किनुभएका मामा प्रदीपकुमार थापासँग मिलेर वंशीमगरले कृषि फार्मको सुरुवात गर्नुभएको हो ।