काठमाडौं, भदौ २६ गते । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा मंगलबार आयोजक वडा नं २३ ले विजयी सुरुवात गरेको छ ।
काठमाडौँ महानगरपालिकाका वडाहरू बिच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं २३ ले काठमाडौँ महानगरपालिकालाई ५–३ गोलले हरायो । विशाल श्रेष्ठको ह्याट्रिकले वडा २३ को जित सम्भव भएको हो । विजयी टिमका लागि सिरिस महर्जन र सुमिन मानन्धरले पनि गोल गर्नुभयो । काठमाडौँ महानगरपालिकाका विनय शाक्य र गौरवले गोल गर्नुभएको थियो ।
पहिलो दिन भएको अन्य खेलमा वडा नं १४ ले वडा नं ३० लाई ३–१ र वडा नं २२ ले वडा नं १६ लाई ३–० ले हराए । वडा नं २२ का लागि सुशील खड्गीले ह्याट्रिक गर्नुभयो । पहिलो दिन विजयी तीनै टिम प्रिक्वाटरफाइनलमा पुगेका छन् । बुधबार वडा नं ५ ले वडा २६, वडा २८ ले वडा २४, वडा २१ ले वडा १३ र वडा १२ ले वडा १८ सँग खेल्नेछन् ।
यसअघि काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । असोज ३ गतेसम्म हुने सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहेको छ ।
नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।