• ८ पुस २०८१, सोमबार

नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु : उपराष्ट्रपति यादव

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव । फाइल तस्बिर

काठमाडौं, भदौ २६ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले आफू अत्यन्तै मर्माहत र स्तब्ध रहेको बताउनुभएको छ। मंगलबार शोक सन्देश सार्वजनिक गर्नुहुँदै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो। उहाँले संसद् र संविधान सभाको दोहोरो भूमिका भएको सभामा उहाँले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको सम्झना गर्नुभएको छ। 

शोक सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ, ‘‘दुवै संविधानसभा (२०६४ र २०७०) का अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले अत्यन्तै मर्माहत र स्तब्ध छु। संसद् र संविधान सभाको दोहोरो भूमिका भएको सभामा उहाँले आफ्नो दोहोरा जिम्मेवारी अत्यन्तै कुशलताका साथ निर्वाह गर्नुभएको थियो।’’ 

सहमति, सहकार्य र एकताको लागि सधैँ जोड दिने नेताको रूपमा आफूले उहाँलाई सम्झिएको उपराष्ट्रपति यादवले बताउनुभएको छ। ‘‘सहमति, सहकार्य र एकताको विकल्प नभएको भन्दै राजनीतिक दललाई सहमतिका लागि सधैँ घचघच्याई रहने व्यक्तित्वका रूपमा उहाँलाई स्मरण गर्दछु’’, शोक सन्देशमा थप भन्नुभएको छ, ‘‘सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन तथा संविधानको जानकार भएको नेताका रूपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो।’’ 

मुलुकले भद्र, शालीन, मृदुभाषी र मिलनसार नेता गुमाएको उहाँले बताउनुभएको छ। ‘‘पूर्व सभामुख तथा इलाम–२ बाट प्रतिनिधि सभाका सदस्यसमेत रहनुभएका उहाँको अकल्पनीय निधनले मुलुकले एकजना भद्र, शालीन, मृदृभाषी र मिलनसार नेता गुमाएको छ’’, शोक विज्ञप्तिमा थप भनिएको छ। 

उहाँले नेम्वाङको योगदान स्मरणीय रहने भन्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँको परिवारप्रति गहिरो समवेदनासमेत व्यक्त गर्नुभएको छ। ‘‘नेपालको संविधान निर्माणका क्रममा उहाँले पुर्‍याउनु भएको योगदान सधैँ स्मरणीय रहने छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली र मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु’’, शोक विज्ञप्तिमा भनिएको छ।